दुर्लभ खनिज नपाएपछि युक्रेनका राष्ट्रपतिलाई ट्रम्पले ‘तानाशाह’ भनेका हुन् ?

1.1k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै टिप्पणी गरेका छन् । यसले दुई नेताबीचको द्वन्द्व बढाएको छ ।

युक्रेनलाई नबोलाइएको अमेरिका-रूस वार्तापछि जेलेन्स्कीले ट्रम्प ‘मस्कोले फैलाएको झूटको संसारमा बाँचिरहेका छन्’ भन्ने टिप्पणी गरेपछि यो विवाद सुरु भएको हो ।

ट्रम्पले फ्लोरिडामा भएको एक कार्यक्रममा जेलेन्स्कीलाई ‘निर्वाचन नगराउने तानाशाह’ भनेका थिए । उनले युक्रेनमा युद्धका कारण लाखौंको मृत्यु भएको र जेलेन्स्कीको लोकप्रियता घटेको दाबी गरे ।

तर, ट्रम्पको भनाइलाई युरोपेली नेताहरूले अस्वीकार गरेका छन् ।

जर्मन चान्सलर ओलाफ सोल्जले ‘जेलेन्स्कीलाई लोकतान्त्रिक नेता नमान्नु गलत र खतरनाक’ भनेका छन् भने बेलायती प्रधानमन्त्री कीर स्टार्मरले पनि जेलेन्स्कीको समर्थन गरेका छन् ।

युक्रेनमा २०२२ फेब्रुअरीदेखि मार्शल लागू छ र निर्वाचन स्थगित छ । जेलेन्स्कीको कार्यकाल २०२४ मे मा सकिने थियो, तर युद्धकालमा निर्वाचन गर्न नसकिने उनले बताए । स्वीडेन र जर्मनीका नेताहरूले ट्रम्पको टिप्पणीलाई रूसी प्रचारको प्रभाव भएको बताए ।

ट्रम्पले युक्रेनबाट दुर्लभ खनिज पाउने प्रयास गरेको र यसलाई लिएर जेलेन्स्कीसँग झगडा भएको उनीहरुको दाबी छ ।

दुर्लभ खनिज तत्वहरू १७ प्रकारका धातुहरूको समूह हुन् । जसले बिजुलीलाई गतिमा रूपान्तरण गर्न मद्दत गर्छन् । यी धातुहरू विद्युतीय सवारीसाधन, मोबाइल फोन, मिसाइल प्रणाली र अन्य इलेक्ट्रोनिक्स बनाउन प्रयोग गरिन्छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षणले ५० प्रकारका खनिजहरूलाई महत्वपूर्ण मानेको छ, जसमा निकेल, लिथियम जस्ता दुर्लभ खनिज तत्वहरू पनि समावेश छन्।

यस्ता महत्वपूर्ण खनिजहरू रक्षा, उच्च-प्रविधि उपकरण, अन्तरिक्ष उद्योग र हरित ऊर्जासम्बन्धी उद्योगहरूका लागि आवश्यक छन् ।

युक्रेनसँग युरोपियन युनियनले महत्वपूर्ण मानेका ३४ मध्ये २२ प्रकारका खनिज भण्डार रहेको बताइएको छ ।

यी खनिजहरूमा उद्योग र निर्माणका सामग्री, फलाम मिश्रित धातु (फेरोएलोय), बहुमूल्य र गैर-फलामे धातुहरू, र केही रेयर अर्थ तत्वहरू समावेश रहेको र त्यसमा अमेरिकाले नियन्त्रण चाहेको छ ।

युक्रेनका पूर्वप्रधानमन्त्री आर्सेनी यात्सेन्युकले जेलेन्स्की पूर्ण रुपमा वैध भएको भन्दै ट्रम्पको टिप्पणीले रुस खुसी भएको बताए ।

यसबीच, युरोपेली संघले रूसमा नयाँ प्रतिबन्ध लगाएको छ । यसमा रूसी एलुमिनियम, तेल ढुवानी गर्ने जहाज, मिडिया र बैंकहरू प्रतिबन्धित गरिएका छन् ।