
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा वित्तीय संघीयता र जैविक विविधता संरक्षणका दिँदै आएको सहयोग रोकेका छन् । उनले यी शीर्षकमा दिँदै आएको रकमलाई ‘ठगी’ को संज्ञा दिएका छन् ।
एलन मस्कको नेतृत्वमा रहेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ ले तयार गरेको दस्तावेज सार्वजनिक गर्दै ट्रम्पले नेपाललाई वित्तीय संघीयता र जैविक विविधता संरक्षणका लागि अमेरिकाले दिएको रकमलाई ठगीको रुपमा व्याख्या गरेका हुन्।
एक भिडियोमा ट्रम्पले नेपालको वित्तीय संघीयताको लागि २ करोड अमेरिकी डलर तथा जैविक विविधता संरक्षणका लागि १ करोड ९० लाख डलर प्रदान गरिएको उल्लेख गरेका छन्। नेपाललाई दिइएको सहयोगबारे ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘दिस इज फ्रड !’
दोस्रो पटक अमेरिकी राष्ट्रपति बने लगत्तलै ट्रम्पले वैदेशिक अनुदान स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यस अन्तर्गत, नेपालका लागि वित्तीय संघीयताको २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि १९ मिलियन अमेरिकी डलर सहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) सहयोग रोकिएको छ ।
अमेरिकी सहयोग नियोग यूएसएडमार्फत नेपालमा सञ्चालित ६ परियोजना पनि रद्द भएको छ । यससँगै अमेरिकी सहयोग परियोजना एमसीसी पनि रोकिएको छ।
ट्रम्पले नेपालसँगै भारत, मालदिभ्स, लाइबेरिया, माली, दक्षिण अफ्रिकालगायतका देशलाई दिइँदै आएको सहयोग पनि स्थगित गरिएको जानकारी दिएका छन् । उनले भारतलाई निर्वाचन साक्षरताका लागि दिइँदै आएको २१ मिलियन डलर सहयोग रोकिएको उल्लेख गर्दै प्रश्न गरेका छन्, ‘भारतसँग पर्याप्त स्रोतसाधन छ । हामीले भारतलाई किन पैसा दिने ?’
ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘ठगी’को संज्ञा दिएपछि यसबारे प्रश्न उठेको छ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिन नहुने बताएका छन्।
‘अमेरिकाका राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन्। देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन। के भएको थियो? के हुँदै छ? सरकारले छानबिन गर्नु पर्दछ। देशभन्दा ठूलो कोही होइन र हुन पनि सक्दैन,’ उनले भनेका छन् ।








प्रतिक्रिया