यूएसएडको पैसा खाएर हिन्दू धर्मको बिरोध गरेको आरोपबारे ‘मह’ जोडीले यसो भने (भिडियो)

364
Shares

काठमाडौं । हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको स्पष्ट पारेका छन् ।

बिहीबार बिहान भिडियो जारी गर्दै उनीहरूले यूएसएडको पैसा लिएर हिन्दु धर्मको विरोध गरेको आरोप पछिल्लो समय आफूहरुमाथि लागि रहेको भन्दै त्यस्तो आरोप निराधार भएको बताएका हुन् ।

आफूहरूले कुनै पनि धर्मको विरोध नगरेका र कुनै विशेष धर्म ग्रहण गर्न नउक्साएको आचार्यको भनाइ छ । ‘व्यंग्य भनेको नेता, वकिल, डाक्टर तथा पण्डित सबैलाई गर्न पाइन्छ,’ उनले भनेका छन्, ‘हामीले कुनै पनि अवस्थामा सनातन हिन्दु धर्म, बुद्ध धर्म वा अन्य कुनै धर्मको विरोध गरेका छैनौँ । न त हामीले कसैलाई अर्को धर्म अपनाउन उक्साएका छौँ । यो केवल गलत प्रचार हो।’

०५२ सालमा गरिएको ‘पञ्चायत व्यवस्थाको सराद्धे’ कार्यक्रममा एक पात्रमार्फत व्यंग्य गरिएको उनको भनाइ छ । ‘त्यो व्यंग्य विशेष पात्रको प्रवृत्तिप्रति लक्षित थियो, सम्पूर्ण धर्म वा वर्गप्रति होइन । पण्डित भन्नाले सबैजना भगवान् हुँदैनन् । म पनि पण्डितकै छोरा हुँ । व्यंग्य नेताहरूलाई गर्न पाइन्छ, पण्डितलाई गर्न पाइन्छ, डाक्टरलाई गर्न पाइन्छ । त्यसलाई धर्मको विरोध भनेर बुझ्नु गलत हो,’ उनले भनेका छन् ।

श्रेष्ठले हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कुरा प्रचार गर्दै हिँड्यो भन्ने अनर्गल प्रचार भइरहेको र यसले आफूहरुलाई एकदमै चित्त दुखेको बताए । ‘हामी सबैलाई आफ्नो सम्झिन्छौँ, हितैषी सम्झन्छौँ । आफ्ना हितैषीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ,’ उनले भनेका छन् ।

के भने ?
मदनकृष्ण श्रेष्ठ: हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कुरा प्रचार गर्दै हिँड्यो भन्ने अनर्गल प्रचार भइरहेको छ । जसले गर्दा हामीलाई एकदमै चित्त दुखेको छ । हामी सबैलाई आफ्नो सम्झिन्छौँ, हितैषी सम्झन्छौँ । आफ्ना हितैषीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ ।

हाम्रो संसारमा राम्रा कुराहरू पनि छन्, नराम्रा कुराहरू पनि छन् । राम्रो राम्रो मात्रै छानेर हामीले काम गर्दै आइारहेका छौँ । जस्तोः कुष्ठरोगसम्बन्धी कुराहरू, क्षयरोगसम्बन्धी कुराहरू भो । अनि खोपका कुराहरू । यी कुनै अधर्म कुराहरू होइन । यहाँहरूले हाम्रा कुनै पनि टेलिफिल्महरू पूरा हेरेर जाँच्नुभए हुन्छ । कुनै पनि त्यस्ता अनर्गल कुरा छैनन् । नचाहिने कुरा बोल्या छैन हामीले ।

हरिवंश आचार्य: हामी दुइटा चलचित्रको छायांकनमा छौँ । एउटा, मदन दाइले खेलिरहनुभएको छ, एउटा मैले खेलिरहेको छु । र, यो अनर्गल प्रचार आउनुभन्दा अगाडि नै हामीले भगवान्‌का मन्दिरहरूमा हामीले चलचित्रहरूको शुभारम्भ गरेका थियौँ, पूजाआजा गरेर ।

यो यूएसएडको कुरा आउँछ, जहाँसम्म लाग्छ हामीले, मदनबहादुर, हरिबहादुर, आमा,, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमहरू हामीले गरेका छौँ । त्योचाहिँ हामीले युट्युबमा सप्पै किताबजस्तै छर्लंग हुने गरी राखेका छौँ । त्यो तपाईंहरूले पल्टाएर हेर्नुभए हुन्छ ।

कहीँ पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म र अरू कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौँ । र, अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ । यो अनर्गल प्रचार हो ।

र, अर्को हामीले ०५२ सालमा यो पञ्चायत व्यवस्थाको सराद्धे भन्ने एउटा कार्यक्रम गर्‍यौँ । त्यसमा एउटा पण्डितको पात्रको प्रवृत्तिको हामीले व्यंग्य गरेका छौँ । र, पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितकै छोरा हुँ । र, व्यंग्य भनेको नेतालाई पनि गर्न पाइन्छ । पण्डितलाई पनि गर्न पाइन्छ । पुलिसलाई पनि गर्न पाइन्छ । डक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यहीअन्तर्गत हो । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्‍यो भन्ने कुरा कपोलकल्पित कुरा हो । हामी यही हाम्रो काममा निरन्तर लागी नै रहन्छौँ । पछाडि यस्ता कुराहरू आएर हामी हतोत्साही हुदैनौँ । नेपाली जनताहरूलाई हामी यही अनुरोध गर्न चाहन्छौँ कि यी सप्पै भ्रामक कुराहरूको विश्वास नगरिदिन हुन हामी हार्दिक अनुरोध गर्दछौँ ।