फोर्ब्समा कस्ता व्यक्ति कसरी छनोट हुन्छन् ?

फोर्ब्सले नचिनेका युवाहरु हाम्रै वरिपरी पो छन् कि ?

126
Shares

एजेन्सी । विश्वप्रसिद्ध अमेरिकी म्यागजिन फोर्ब्सले पछिल्लो १० वर्षयता एसियाका प्रभावशाली ३० वर्षमुनिका ३० जना युवाहरुलाई सूचीकृत गर्दैआएको छ । उक्त सूचीमा नेपाली युवतीहरु पनि पर्न सफल भइसकेका छन् ।

गत वर्ष मात्रै नेपाली युवती श्रीया गिरीकाजोल सेठिया फोर्ब्सको यो सूचीमा परेका थिए । विशेषगरी विभिन्न क्षेत्रमा अनुकरणीय काम गर्ने र नयाँ काम गर्ने प्रभावशाली उद्यमीहरु यसमा अटाउने गर्छन् ।

त्यसो त काठमाडौंकी श्रीया गिरीले अनलाइनको माध्यमबाट मनोपरामर्शको काम गराएर त्यसलाई नै आफ्नो करिअर बनाएकी थिइन् भने काजल सेठियाले नेपालमा पहिलो पटक भिगानमा आधारित डेरी प्रडक्ट उत्पादन र विक्री गरेर नयाँ र अनुकरणीय काम गरेकी थिइन् ।

त्यसैले पनि नयाँ पुस्ताका यी दुई नेपाली चेलीलाई फोर्ब्सले एसियाका प्रभावशाली ३० वर्षमुनिका ३० जनाको सूचीमा राखेको थियो ।

फोर्ब्सको उक्त सूचीलाई वास्तवमा एउटा विशाल पुरस्कार र उनीहरुले गरेको कामको उच्च सम्मानको रुपमा पनि लिइन्छ ।
नेपाली मात्रै हैन, ‘के–पप’ अर्थात कोरियाली कलाकार बीटीएस, ब्ल्याकपिंक, प्रभावशाली जापानी खेलाडी नाओमी ओसाका र पान झान्ले जस्ता व्यक्तिदेखि एयरवालेक्सका लुसी लिउ र क्लुस्कका एरिक नक फा जस्ता व्यक्तिहरु पनि यो सूचीमा परिसकेका छन् ।

तर के एसियाभरका उद्यमीहरुलाई फोर्ब्सले खोजी खोजी सम्मान गर्छ त ? वा उनीहरुले गरेको कामले विश्वभर प्रभाव पारेकाले यसरी सम्मान गरिन्छ ?

ठ्याक्कै त्यस्तो पनि हैन । तर फोर्ब्सले यसरी सूचीकृत गरिदिनाले उनीहरुको काम र नयाँ आइडियाले उच्च सम्मान पाउनुका साथै अन्तर्राष्ट्रिय रुपमा प्रचार भने हुन्छ ।

तर बेरोजगारी र गरिबीले जकडिएका नेपाल जस्ता साना देशहरुबाट पनि युवाहरु उदाहरणीय उद्यमी बन्न कसरी सम्भव छ त ? यसको यथार्थ रहस्य यहाँ प्रस्तुत गरिएको छ ।

यदि तपाईँ फोर्ब्सको सूचीमा पर्नयोग्य त्यस्ता उदाहरणीय व्यक्तिहरुलाई चिन्नुहुन्छ वा तपाईँ आफैंले पनि त्यस्तो अनुकरणीय काम गरिरहनुभएको छ भने फोर्ब्सले २०२५ का लागि नयाँ सूची सार्वजनिक गर्दैछ । र यसका लागि एसियाभरबाट यसका लागि आवेदन लिँदैछ ।

छनोटका लागि कुनै पनि योग्य एसियनले अनलाइनबाटै फारम भर्न सक्छन् । तर यसको अन्तिम मिति भने समाप्त भइसकेको छ । यसका लागि गत डिसेम्बर ३१ सम्म उक्त व्यक्ति ३० वर्षभन्दा कम उमेरको हुनुपर्ने थियो । अर्थात् यसपटकका लागि १९९५ को जनवरी १ भन्दा पछि जन्मिएका व्यक्तिले मात्रै आवेदन दिन पाए ।

कुन कुन विधामा आवेदन दिन सकिन्छ ?

यो सूचीका लागि फोर्ब्सले १० वटा विधा तय गरेको छ । र हरेक विधामा ३० वटा आवेदन लिने गरेको छ ।जसअन्तर्गत एआई, उपभोक्ता र उद्यम प्रविदि, मनोरन्जन र खेलकुद, फाइनान्स र भेन्चर क्यापिटल, स्वास्थ्य सेवा र विज्ञान, उद्योग, निर्माण र ऊर्जा, रिटेल र इकमर्स, सामाजिक प्रभाव, सोसल मिडिया, मार्केटिङ र विज्ञापन, र कला (कला शैली, खाना तथा पेय) विधा तय गरिएको छ ।

कुन देश र क्षेत्रका व्यक्तिले प्रतिस्पर्धा गर्न सक्छन् ?

एसियाको यो सूचीले समग्र एसिया प्यासिफिक क्षेत्रलाई समेटेको हुन्छ । जहाँ अष्ट्रेलिया, न्युजिल्यान्ड र ओसियाना क्षेत्र पनि पर्छन् । तर मध्यपूर्व भने यसमा पर्दैन ।

यी देश र क्षेत्रका नागरिक वा यी क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले यसका लागि आवेदन दिन सक्छन् । फोर्ब्सले कसैलाई दोस्रो पटक यस सूचीमा नराख्ने भएकाले उत्तर अमेरिका, एसिया वा युरोपको सूचीमा परेकाहरु फेरि अर्कोपटक यो सूचीमा समावेश हुँदैनन् ।

यसैगरी कुनै कम्पनीको सहसंस्थापक पनि यसमा पर्नसक्छ । तर ३० वर्षमुनिको त हुनैपर्छ । यदि कुनै सहसंस्थापक ३० वर्षमुनिको छ भने उसबारे पनि फोब्सले बिचार गर्न सकिने जनाएको छ ।

छनोट प्रक्रिया के हो ?

सबभन्दा पहिले आवेदनमा परेका नामहरुबारे फोर्ब्स एसियाका पत्रकार तथा रिपोर्टरहरु र सम्पादकहरुले जाँच गर्नेछन् । र ३० वर्षमुनिका पूर्वविद्यार्थी, शिक्षाविद, उपकुलपतिसहित विश्वसनीय स्रोतहरुबाट थप नामहरु मागिनेछ ।

त्यसबाट उनीहरुले सर्टलिस्ट गर्नेछन् । त्यसपछि उनीहरुले सम्भावित उम्मेदवारको नाम निर्णयकहरुलाई पठाउने छन् । निर्णयकमा भने उद्योगका विज्ञहरु हुन्छन् ।

निर्णायकहरुले प्रतिक्रिया पनि दिन्छन् । र तथ्यजाँच पनि गर्छन् । अन्त्यमा उनीहरुले सर्टलिस्टमा परेका ३ सय जनाको अन्तिम नामावली तयार पार्छन् । यो प्रक्रिया पूरा नहुन्जेल निर्णयकले उम्मेदवार वा विजेतालाई जानकारी दिँदैन । र कुनै अपडेट पनि गरिँदैन ।

के हुन योग्यता ?

यसका लागि खास कडा मापदन्डहरु भने छैनन् । जस्तो कि, यतिसम्म लगानी गरेको वा राजस्व तिरेको हुनुपर्ने जस्ता कडा मापदन्डहरु यसमा हुँदैन ।

समग्रमा छनोटमा पर्ने व्यक्तिहरुले आफ्नो उद्यम वा क्षेत्रमा कस्तो प्रभाव पारिरहेको छ ? उसले गरेको काम कति नयाँ र सिर्जनात्मक छ ? कति मौलिक योजना छ ? उसले गरेको कामले आफ्नो क्षेत्रमा कस्तो परिवर्तन गरेको छ ? वा केकति योगदान दिन सकेको छ ? साथै उसले आफ्नो उद्यम स्थापना गर्नुको पछाडिको कारण र संघर्ष कस्तो थियो जस्ता विषयहरुले नै यो सूचीमा पर्ने वा नपर्ने निर्धारण गर्छ ।

फोर्ब्सले युरोप, उत्तर अमेरिका तथा एसिया क्षेत्र गरी भौगोलिक रुपमा क्षेत्रगत क्याटगेरी छुट्याएर ३०÷३० जना युवाहरुको अन्तिम नामावली सार्वजनि गर्छ ।

जहाँ नेपालबाट पनि यस्तो सूचीमा पर्ने क्रम विस्तारै बढ्न थालेको छ । २०२४ मा दुई जना युवतीहरु बहेक पनि नेपालबाट फोर्ब्सको सूचीमा परिसकेका थिए ।

यससँगै अब नेपाली युवाहरुले पनि यो सूचीमा पर्नका लागि आवेदन दिने क्रम बढ्न थालेको छ । त्यसो त विभिन्न क्षेत्रमा सिर्जनात्मक काम गरेर आफ्नो प्रभाव पार्ने नेपाली युवाहरुको उल्लेख्य संख्या देखिन थालेको छ । तर उनीहरुले गरेका कामहरुलाई अन्तर्राष्ट्रिय स्तरबाट प्रेरणा र हौसलाको आवश्यकता भने छ ।

तर नेपालका दुर्गम क्षेत्रमा लामो समयदेखि बसेर समाजका लागि योगदान दिइरहेका वा अनुकरणीय काम गरेर उदाहरण बनिरहेका युवाहरु पनि ओझेलमा परिरहेका छन् ।

जो फोर्ब्सको सूचीमा पर्न योग्य भएर पनि छायामा हराइरहेका हुन सक्छन् । उनीहरुले गरेको काम मौलिक र ‘इनोभेटिभ’ भएर पनि बाहिरी दुनियामा नदेखिएको हुनसक्छ ।

त्यस्ता अनुकरणीय युवाहरु यदि फोर्ब्समा सूचीकृत भएको खण्डमा ती युवाहरुको व्यक्तिगत करिअर र जीवनमा त आमुल परिवर्तन आउँछ नै, त्यसले विश्वस्तरमै नेपालको पहिचान पनि जबर्जस्त स्थापित गर्नसक्छ ।