एरोस्पेस इन्जिनियरिङ छोडेर भिगान यात्रामा काजोल

हरेक महिना २० प्रतिशतका दरले बजार विस्तार



खानाको परिकार मात्रै नभएर एउटा जीवनशैली र व्यवहार हो भिगान । पूर्ण रुपमा अहिंसात्मक जीवनशैली र संस्कृति । जहाँ सिंगो प्रकृति र हरेक जीवात्माहरुलाई गहिरो स्नेह र परोपकार गरिन्छ ।

काठमाडौं । गत साता विश्वप्रसिद्ध अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले एसियाका प्रभावशाली ३० वर्षमुनिका युवाहरुको सूची सार्वजनिक गर्दा काजोल सेठिया सगरमाथाको फेदीतिर जाँदै थिइन् । फोर्ब्सको प्रभावशाली युवाको सूचीमा पर्ने दुई नेपाली युवतीमध्ये काजोल एक थिइन् । लुक्ला विमानस्थलमा ओर्लिँदै गर्दा उनको फेसबुक र म्यासेन्जरमा बधाइको ओइरो नै लागिसकेको थियो ।

धेरैतिरबाट एकैपटक बधाइ आउन थालेपछि उनले आफ्नी आमालाई फोन गरेर सुनाइन् । काजोलकी आमा, जसले उनलाई भिगान डेरी सञ्चालन गर्न सुरुमा १० हजार रुपैयाँ दिएकी थिइन् । भिगान प्रडक्ट घरमै बनाइदिएकी थिइन् । यही मंगलबार काठमाडौं फर्किएपछि काजोल भेटघाटमै व्यस्त छिन् । कुपन्डोल नजिकै रहेको भिगान डेरीको कार्यालयबाट उनले यतिबेला ती आफन्त र साथीहरुलाई सरसर्ती सम्झिइन्, जसले लामो समयसम्म भनिरहेका थिए ‘एरोस्पेस इन्जिनियरिङ गरेको मान्छे नासामा नगएर किन दुध बेचेर बसेकी ?’

काठमाडौंमा जन्मेहुर्केकी काजोल डीएभी स्कुलमा पढ्दा एक सफल एरोस्पेस इन्जिनियर बनेर नासामा काम गर्न चाहन्थिन् । उनको पढाइ र मेहनतले यो बाटो सम्भव पनि थियो सायद । सिंगापुरमा गएर उनले यही विषय पढिन् । तर अवस्थाले उनलाई अन्यत्रै ल्याइपुर्‍याएको छ ।

एरोस्पेस इन्जिनियर बनेर नासाको बाटो तय गर्न सिंगापुर पुगेकी काजोल २०१८ मा नेपाल फर्किँदा एक असल भिगान बनिसकेकी थिइन् । उपत्यकाका सटर सटरमा काभ्रेली डेरी, गौतम डेरी र सुजल डेरी देखिरहेका आम मान्छेहरुलाई लाग्ला, त्यसैको भीडमा अर्को एउटा दुध-दही पसलको संख्या थपियो, भिगान डेरी । काजोलका आफन्त र साथीभाइलाई पनि यस्तै लागेको थियो ।

त्यसको ठीक विपरीत काजोलले सुरु गरेको भिगान डेरीले जनावरबाट उत्पादित कुनै पनि चिज बिक्री गर्दैन । बजारका दुध डेरीहरुमा हामी जेजस्ता चिज पाउँछौं त्यस्तै देखिने तर वनस्पति र फलफुलबाट बनेका परिकार मात्रै भिगान डेरीले बेच्ने गर्छ ।

कसरी जन्मियो भिगान डेरी ?

काजोलका बाबुसहित परिवार र अधिकांश आफन्तहरु कन्स्ट्रक्सन व्यवसायमा छन् । काजोलका बाबु उनलाई एउटा सफल सिभिल इन्जिनियर बनाउन चाहन्थे । त्यसो नभए कमर्स पढेर आफ्नो जस्तै बिजनेस गरोस् भन्ने उनको अपेक्षा थियो । काजोललाई भने नासा पुगेर अन्तरीक्षको यात्रा गर्नु थियो । त्यसैले उनी सिंगापुरको प्रतिष्ठित कलेजमा गएर एरोस्पेस इन्जिनियरिङ गरिन् ।

कोरोना महामारीभन्दा पहिले नेपाल फर्किँदा उनले सिंगापुरमा काम गर्दा कमाएको थोरै पैसा र भिगान डेरी खोल्ने एउटा सानो सपना बोकेर आएकी थिइन् । तर कहाँबाट कसरी सुरु गर्ने अन्योल थियो । त्यसैबेला काठमाडौंको लैनचौरमा भिगानहरुको भव्य सम्मेलन भएको थियो । जहाँ थुप्रै युवाहरु भिगान प्रडक्ट लिएर प्रदर्शन गरेका थिए । त्यहीँ थिइन् काजोल पनि ।

त्यस कार्यक्रममा उनले भेटेकी थिइन् तीन जना साथीहरु । उनीहरुसँग काजोल आफ्ना योजना सेयर गर्थिन् । पछि ती साथीहरुलाई घरमा बोलाएर भिगानका परिकारहरु बनाएर खुवाउन थालिन् । यतिन्जेल उनले के आकलन गरिसकेकी थिइन् भने, ‘भिगान फुड कस्टमरहरु काठमाडौंमा छन् । तर थोरै मात्रै ।’ नेपालमा नयाँ र अनौठो लाग्ने यस्तो व्यवसाय चिनाउन र आम ग्राहकमाझ पुर्‍याउन चुनौती थियो उनका लागि ।

जैन परिवारमा हुर्केकी काजोलले घरको भान्सामा माछामासु पाकेको कहिल्यै देख्नु परेन । परिवारका सबै जना साकाहारी त थिए नै । काजोल भने साकाहारीभन्दा एक कदम अगाडि भिगान बनिसकेकी थिइन् ।

उनकी आमा परिवारलाई चाहिनेभन्दा केही धेरै मात्रामा भिगान आइटम बनाएर राख्थिन् । एक दिन लैनचौरको कार्यक्रममा भेटिएका काजोलका तिनै तीन जना भिगान साथीहरु घरमा आएर आमाले बनाएका भिगान प्रडक्ट किनेर पैसा दिए ६०० रुपैयाँ । र उनीहरु नै थिए उनको पहिलो ग्राहक । त्यसपछि उनले भिगान प्रडक्टलाई विस्तारै ग्राहकहरुसम्म पुर्‍याउने निधो गरिन् । यसका लागि उनको टार्गेट लोकेसन थिए बालुवाटार र झम्सीखेल । जहाँ उनी आफैं सामान बोकेर जान्थिन् । ग्राहकलाई प्रत्यक्ष डिल गर्थिन् । ग्राहकहरु नियमित हुन थालेपछि ती ठाउँमा स्टल राखेर डेलीभरीको पनि व्यवस्था मिलाइन् ।

‘तपाइँमा प्यासन र भिजन छ भने लाज मान्नुपर्ने कारण नै छैन । म सुरुसुरुमा ग्राहकलाई भेटेर डिल गर्थेँ । सुरुका दिनहरुमा मलाई भेटेरै सामान किन्ने ग्राहकहरु अहिलेसम्म पनि नियमित ग्राहक नै हुनुहुन्छ,’ काजोलले प्रारम्भिक दिनहरु सम्झिन् । झम्सीखेल र बालुवाटार धाउँदा एउटा अनौठो संयोग भने त्यहाँ धेरैजसो विदेशीहरु उनका ग्राहक थिए । तीमध्ये केही विदेशीहरु त अहिले पनि निरन्तर झन् धेरै सामान किन्ने गरेको सुनाउँछिन् काजोल ।

कोरोना महामारीमा फाइदा

२०१९ को अन्त्यतिर कोरोना महामारीले विश्वलाई नै आतंकित पारिराखेको बेला केही सीमित व्यवसायका लागि भने लाभ नै भयो । जस्तै औषधिपसल, मास्क लगायतका व्यवसाय त्यसबेला राम्ररी फस्टाए । अनपेक्षित रुपमा काजोललाई पनि कोरोना महामारी लाभदायी बनेछ । उनी सम्झिन्छिन्, ‘अभियस्ली गाह्रो थियो सबैतिर । तर एउटा पोजिटिभ कुरा माछामासु र दुधदही खाएर कोरोना फैलिन्छ भन्ने त्रास थियो । त्यसैले पनि हेल्थ कन्सस भएर मान्छेहरुले भिगान प्रडक्ट धेरै डिमान्ड गर्नुहुन्थ्यो ।’

विशेषगरी काठमाडौंमा रहेका विदेशीहरुले धेरै नै भिगान प्रडक्ट किन्ने गरेका थिए । यसवाहेक काठमाडौंका ठूला अस्पतालहरुमा काजोलले त्यसै बेलादेखि भिगान प्रडक्ट सप्लाइ गर्न थालिन् । त्यसो त डाक्टरहरुले नै बिरामीलाई डेरी र माछामासु नखान सल्लाह दिने गरेका थिए । त्यसैले पनि काजोलका लागि कोरोना महामारी लाभदायी भनेको थियो ।

यही प्रेरणाले काजोलले भिगान प्रडक्ट बेच्न अनलाइन बुस्टिङ गर्न थालिन् । उनका ग्राहक सीमित थिए तर सिरियस पनि । नेपालमा बस्ने विदेशीहरु खोजीखोजी उनको सामान किन्थे । बालुवाटारबाट सबैभन्दा धेरै सामान किन्ने एक जना अमेरिकनलाई उनी अहिले पनि सम्झिन्छिन् । ती ग्राहकले त अचेल एक महिनाको लागि एकै चोटि सामान किनेर लैजाने गरेको सुनाउँछिन् उनी ।

के हो भिगान डेरी ?

समृद्ध देशहरुमा भिगान प्रोडक्टको माग र लोकप्रियता बढिरहँदा नेपालका लागि भने यो नयाँ प्रयोग नै हो । डाबर नेपाललगायतका केही मल्टिनेसनल कम्पनीले भिगान प्रोडक्टका केही आइटम बिक्री गर्दै आए पनि आफूलाई भिगान अभियन्ताकै रुपमा चिनाउँदै पूर्ण रुपमा भिगान प्रोडक्ट मात्रै बिक्री गर्ने यही पहिलो कम्पनी हो ।

जसले गाईवस्तुलगायतका पशुहरुबाट उत्पादन हुने कुनै पनि चिजलाई इन्कार गर्छ । र त्यसको सट्टामा वनस्पति र फलफूलबाट बनेका सोय मिल्क, दही, घ्यू, चिज, क्रिम, केक, बिस्कुट जस्ता डेरी आइटम बिक्री गर्छ । यसवाहेक नट्स, नट सिड्स लगायत अन्नहरु पनि भिगान प्रडक्टमा पर्छन् । यसका लागि आवश्यक कच्चा पदार्थ जुटाउने काम भने निकै कठिन हुने गरेको उनको अनुभव छ । त्यस्तै महंगा उपकरण र प्रविधि पनि। काजोलले यही चुनौती बेहोरिरहेकी छन् यतिबेला ।

नेपालमा उत्पादन निकै महँगो र झन्झटिलो पर्नुका साथै उपकरण ढुवानीको काम उत्तिकै खर्चिलो हुने गरेको उनी सुनाउँछिन् । भिगान डेरीले पछिल्लो समय उपभोक्ताको रुची र स्वाद अनुसार यस्ता विभिन्न परिकारको भेराइटी बढाउँदै गरेको काजोल बताउँछिन् ।

भिगान हुनु भनेको के हो ?

भिगान डेरीबाट काजोल जे गरिराखेकी छन् यसलाई एउटा पेशा मात्रै नभएर अभियानकै रुपमा लिएकी छन् । खानाको परिकार मात्रै नभएर एउटा जीवनशैली र व्यवहार हो भिगान । पूर्ण रुपमा अहिंसात्मक जीवनशैली र संस्कृति । जहाँ सिंगो प्रकृति र हरेक जीवात्माहरुलाई गहिरो स्नेह र परोपकार गरिन्छ । पशुबाट उत्पादन हुने परिकारलाई यसमा पूर्ण रुपमा बन्देज मानिन्छ ।

‘गाईबस्तुलाई मार्न पो नहुने तिनको दुधदही खान त के हुन्छ र ?’ आम मान्छेहरुले भन्ने गरेको धेरै सुनेकी छन् उनले । तर उनलाई एउटा कुरामा विश्वास छ, प्रकृतिले सबै प्राणीलाई पर्याप्त खाना दिएको छ । पृथ्वीमा सबैलाई पर्याप्त स्पेस दिएको छ । ‘जसरी उत्पत्तिदेखि नै मान्छेको खाना प्रकृतिले पुर्‍याउँदैआएको छ, ठीक त्यसैगरी गाईबस्तुका बाच्छाबाच्छीहरुलाई पनि प्रकृतिले पर्याप्त आहार दिन्छ,’ काजोल तर्क गर्छिन्, ‘हरेक पशु जनावरको शरीरबाट निस्किने दुधको पहिलो र अन्तिम हकदार तिनै पशुका सन्तानहरु हुन् । जसरी हाम्रा आमाहरुको दुध पिउने हक हामीलाई छ, त्यसैगरी हरेक बाच्छाबाच्छीलाई उनीहरुका आमाको दुध पिउने अधिकार हुन्छ ।’

त्यसो त भिगान संसारमा विश्वव्यापी मान्यता छ,’यदि तिमीले केही चिज वा खाना आफैं उत्पादन वा निर्माण गर्न सक्दैनौ भने त्यो चिजका लागि तिमी हकदार होइनौ ।’ अर्थात् प्रकृतिले जे चिज जे प्रयोजनका लागि दिएको हो त्यो त्यसैका लागि खर्चिनुपर्छ भन्नेमा काजोलको ‘कन्भिक्सन’ छ ।

त्यसो त, भिगान जीवनशैली अपनाउनेहरु त्यसरी बाच्छाबाच्छीको मुखबाट दुध खोसेर खानुलाई एउटा हिंसा मान्ने गर्छन् । किसानहरुको देश नेपालमा गाई पालिन्छ । गाईको पूजा गरिन्छ । दुध दिइन्जेल त्यसलाई घाँस र दाना खुवाएर बलियो बनाइन्छ । बाच्छाबाच्छी जन्मियो भने दुध कम हुने भन्दै सडकमै अलपत्र छाडिन्छ । कालान्तरमा गाईको दुध सुकेपछि गाईलाई पनि सडकमै बेवारिसे बनाइन्छ । र यही हो हिंसा ।

काठमाडौं बाहिर केही सहर र सगरमाथा फेदीका क्याफेहरुमा पनि भिगान डेरीका प्रडक्ट पठाइन्छ अचेल । देशभर सामान सप्लाइ गर्नका लागि काजोलसँगै १२ जना स्टाफ छन् । हरेक महिना २० प्रतिशतका दरले बजार विस्तार भइराखेकोमा उनी उत्साही छिन्

यो प्रकृतिको उत्पादन उपयोग गर्ने हक मान्छेलाई जति छ त्यति नै छ जनावरलाई पनि । ती जीवात्माहरु पनि प्रकृतिमा विचरण गर्नका लागि उत्तिकै हकदार छन् । भिगानको यही विश्वव्यापी अवधारणालाई चिनाउन चाहन्छिन् काजोल ।

काजोल स्कुल पढ्दादेखि नै जनावरहरुलाई असाध्यै प्रेम गर्थिन् । बाटोमा अलपत्र पारिएका कुकुरहरु देखे तिनलाई उठाएर घरमै लगेर पाल्ने गर्छिन् । यसरी अहिले पनि सडकछेउमा अलपत्र छोडिएका ५ वटा कुकुरलाई उनले घरमै लगेर पालेकी छिन्।

अनौठो त के भने, काजोलले पालेका ती पाँचवटै कुकुरहरु काजोल जस्तै भिगान बनिसकेका छन् । ‘एउटा जर्मन सेफर्डलाई त सुरुसुरुमा मासु खान नपाएर गाह्रो पनि भएको थियो । तर विस्तारै उसलाई चाहिने प्रोटिनको मात्रा पर्याप्त दिन थालेपछि अहिले त बलियो भइसक्यो । उनीहरुलाई पनि हामी डेरी प्रडक्ट दिँदैनौं । अब त उनीहरुलाई पनि भिगान खानाहरु बानी भइसक्यो ।’

प्रभावसँगै चुनौतीहरु

देशभर भिगान डेरीका ग्राहक १० हजारभन्दा धेरै बनिसकेका छन् । काठमाडौं बाहिर केही सहर र सगरमाथा फेदीका क्याफेहरुमा पनि भिगान डेरीका प्रडक्ट पठाइन्छ अचेल । देशभर सामान सप्लाइ गर्नका लागि काजोलसँगै १२ जना स्टाफ छन् । हरेक महिना २० प्रतिशतका दरले बजार विस्तार भइराखेकोमा उनी उत्साही त छिन् । तर बजारमा सामान पठाएको महिनौंसम्म भुक्तानी नआउँदा कहिलेकाहीँ दिक्क हुन्छिन् । महिनाको ३ लाखजति तलबमै खर्च हुन्छ ।

‘बजारबाट पैसा नउठ्दा कहिलेकाहीँ दिक्क लाग्छ । म यो के गरिराखेको छु जस्तो पनि लाग्छ । सँगै पढेका साथीहरु राम्रा विदेशी कम्पनीमा काम गरेर हरेक महिना धेरै तलब बुझिराखेका छन् । म कहाँ आएँ जस्तो पनि हुन्छ । यसमा रिस्क छ तर भविष्यमा एउटा आफूले सोचे जस्तो उद्योग विस्तार गर्न सफल भएँ भनेर पोजिटीभली पनि हेर्छु ।’

फोर्ब्सबाट साहस र प्रेरणा

यससँगै पछिल्लो साता फोर्ब्सको प्रभावशाली युवा सूचीमा परेपछि उनमा साहस र प्रेरणा झन बलियो बनेको छ । आकासको एउटा लामो यात्रा छोडेर जमिनमा उभिएकी काजोलको सपना फैलिँदैछ । ठोस व्यवसाय मात्रै नभएर उनी यसलाई ‘सोसल कज’सँग जोडेर विश्वभर चिनाउँदै छिन् ।

६ वर्षको अन्तरालमा दुध बेचेर कमाउन नसकेको मूल्य उनलाई अहिले एकै पटक ब्याजसहित आएजस्तै भएको छ । यसैको प्रेरणाले उनी एउटा भिगान सोसाइटी र भिगान वर्ल्ड बनेको देख्न चाहन्छिन् । जहाँ मान्छेमात्रै हैन जनावर र हरेक जीवात्मामाथि हिंसा नहोस् । काजोल र काजोलहरु जस्तै यो पृथ्वीका ७ अर्ब मानिसले यसैगरी हरेक जीवात्मालाई स्वतन्त्र छाडिदिए भने पूर्ण प्राकृतिक विश्व बन्ने थियो । अर्थात् भिगान वर्ल्ड ।


रमन पौडेल