पर्यटनसँग सम्बन्धित संस्थाले भने: सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोक्दा नकारात्मक सन्देश गयो

133
Shares

काठमाडौं । पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुले सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणमा कायम प्रतिबन्धले अन्तर्राष्ट्रिय जगतमा नेपालबारे नकारात्मक सन्देश गएको भन्दै तत्काल समस्या समाधानको माग गरेका छन् ।

वायुसेवा सञ्चालक संघ, नेपाल उद्योग परिसंघ, ट्रेकिङ एजेन्सिस् एशोसिएसन अफ नेपाल, एक्सपिडियन्स अपरेटर्स एसोसिएसन नेपाल, होटल संघ नेपाल, पर्वतारोहण संघ, नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेण्टसले समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

वायुसेवा सञ्चालक संघ तथा सदस्य कम्पनीलाई साथ तथा एकतावद्धता जनाउने ति संस्थाहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणमा रोक लगाउँदा पर्यटन उद्योग नै धरासायी हुनुका साथ साथै हेलिकप्टर कम्पनीहरुलाई ठूलो आर्थिक भार पर्न गई व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सृजना हुने उनीहरुको भनाइ छ । यसले हेलिकप्टर कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको रोजगारी गुम्ने हुदाँ तीनमा आश्रित परिवारको रोजीरोटी समेत खोसिने अवस्था बन्ने भन्दै समस्या समाधान गर्नु पर्ने उनीहरुको भनाइ छ ।

जनावरी १ देखि हेलिकप्टर उडानमा लगाएको प्रतिवन्ध सम्वन्धमा सम्वन्धित पदाधिकारीहरुसँग संघका पदाधिकारीहरुले पटक पटक वार्ता गर्दा पनि कुनै निर्क्यौलमा पुग्न नसकेको र हाल उक्त क्षेत्रको हेलिप्याडमा अवरोध कायम नै रहेको विज्ञप्तिमा जनाइएको छ ।

पर्यटनसँग सम्वन्धित संघ संस्थाहरुले उक्त क्षेत्रमा देखिएका समस्या कानून विपरित रहेको, तत्काल समस्या निराकरणका लागि वार्ता तथा संवादद्वारा समस्या समाधान गरिनु पर्ने उल्लेख गरेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय युवा समूह लगायत अन्य संघ संस्थाहरु तथा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रुपमा हेलिकप्टर उडानमा रोक लगाउँदै आएका छन् ।