उपभोक्ता अदालतको लागि न्यायाधीश र सदस्य तोकिए


काठमाडौं । सरकारले उपभोक्ता अदालतको लागि दुई न्यायाधीश तोकेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी तीन जना न्यायाधीश तोकेर जिम्मेवारी सुम्पेको हो ।

मन्त्रालयले काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश रामप्रसाद शर्मालाई उपभोक्ता अदालतको अध्यक्षको जिम्मेवारी सुम्पेको छ ।

यस्तै दुई सदस्यहरुमा नेपाल न्यायसेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई नियुक्त गरेको छ ।

यो अदालत विश्व उपभोक्ता अधिकार दिवस(फागुन २ गते) देखि सञ्चालनमा आउने राजपत्रमा उल्लेख छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ४१ को उपदफा २ अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई केन्द्रित हुने गरी उपभोक्ता अदालत गठन गर्ने गत साता सरकारले निर्णय गरेको थियो ।