विशाल बजारले बोलायो साधारणसभा: लगानीकर्तालाई लाभांश दिने घोषणा


काठमाडौं । विशाल बजार कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई लाभांश समेत घोषणा गरेको छ ।

माघ २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

फागुन २८ गते ११ बजे त्रिभुवन आर्मी अफिसर क्लवमा हुने सभाका लागि फागुन ९ गते बुक क्लोज गर्ने भएको छ । फागुन ८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश तथा फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पुँजी ४ अर्ब १ करोड रुपैयाँ अनुमोदन गर्ने विदेश प्रस्ताव रहेको छ । कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्ने प्रस्ताव रहेको छ।

सभाले अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०–०७१ देखि २०७५–०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन र आर्थिक वर्ष २०८०–०८१ र २०८१–०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्नेछ । साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७५–७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिने प्रस्ताव रहेको छ ।