आफ्नै कार्यविधि विपरित नेप्सेले निकाल्यो मार्जिन कारोबार गर्न योग्य १०२ कम्पनीको सूची


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नै कार्यविधि विपरित मार्जिन कारोबारका लागि १६ वाणिज्य बैंकसहित १०२ कम्पनीको सूची सार्वजनिक गरेको छ ।

नेप्सेले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गर्दा ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ को परिच्छेद ३ को ८ बमोजिमका कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको जनाएको छ ।

परिच्छेद ३ को ८ मा भएको ५ वटा व्यवस्था मध्ये केही कम्पनीले एउटा व्यवस्था पूरा गरेका छैनन् । तै पनि नेप्सेले मार्जिन कारोबारका लागि योग्य ठानेको छ ।

परिच्छेद ३ को ८ को ‘ग’ मा पछिल्लो २ आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको हुनुपर्छ भन्ने व्यवस्था छ ।

यो व्यवस्था केही वाणिज्य बैंकदेखि धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ पूर्वअध्यक्ष रहेको स्वाभिामान लघुवित्त वित्तीय संस्थाले समेत पूरा गरेको छैन । स्वाभिमान लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा लाभांश दिएको छैन । यस्तै आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको छैन ।

नेप्सेले बनाएको कार्यविधि पूरा नगरे पनि मार्जिन कारोबारका लागि योग्य हुनेमा सिजिटन्स बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंक समेत रहेका छन् ।

सिटिजन्स बैंकले दुई आर्थिक वर्षमा दिएका लाभांश १० प्रतिशत पुग्दैन । ८.४२ प्रतिशत मात्रै हुन्छ । हिमालयन बैंकले लाभांश दिएको छैन ।

कुमारी बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंकले लाभांश दिएका छैनन् ।

सिद्धार्थ बैंकले दुई आर्थिक वर्षमा नै लाभांश दिएपनि दुई वर्षको लाभांश १० प्रतिशत पुग्दैन ।

३५ दिनभित्र दाबी बिरोध गर्न पाउने भएकाले मापदण्ड नपुगेका कम्पनी हेरफेर हुन सक्ने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।