एजेन्सी । अमेरिकामा जन्मिएका बच्चा स्वत: त्यहाँको नागरिक हुने व्यवस्था अन्त्य गर्ने गरी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कार्यकारी आदेशलाई अदालतले रोक लगाइदिएको छ ।
सिआटलका एक संघीय न्यायाधीशले ट्रम्पको आदेशमा अस्थायी रोक लगाइदिएका हुन् ।
युएस डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोन कफ्नरले उक्त आदेश ‘स्पष्ट रूपले असंवैधानिक’ रहेको बताउँदै दुई साताका लागि त्यो कार्यान्वयन गर्न रोक लगाएका हुन् ।
उक्त निर्णय फेब्रुवरी १९ देखि जन्मिने शिशुहरूका हकमा लागु हुने अमेरिकी न्यायमन्त्रालयले पेस गरेको कानुनी दस्ताबेजमा उल्लेख थियो ।
ट्रम्पले आफ्नो प्रशासनले अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।
बिहीवारको सुनुवाइपछि उक्त आदेश कार्यान्वयन गर्न अन्तरिम रोकको आदेश दिइएको बीबीसीले जनाएको छ ।
चार अमेरिकी राज्यहरू वाशिङ्टन, एरिजोना, इलिनोई र ओरिगनले उक्त मुद्दा अघि सार्दै जन्मका आधारमा नागरिकता प्राप्त गर्ने हक संवैधानिक रहेको र राष्ट्रपतिसँग संविधान संशोधन गर्ने अधिकार नभएको दलिल पेस गरेका थिए ।
उनीहरूले उक्त आदेश कार्यान्वयन भएमा आफ्ना राज्यहरूले ‘तत्काल र अपूरणीय क्षति बेहोर्ने’ तर्क गरेका थिए ।
न्याय मन्त्रालयले ती राज्यहरूले अघि सारेका मुद्दाले अस्थायी रोक लगाउने कुनै कदम चाल्न आवश्यक नरहेको तर्क गरे पनि न्यायाधीश त्यसमा असहमत भएको समाचारमा जनाइएको छ ।
कागजातबिना अमेरिकामा रहेका आप्रवासी र विदेशी आगन्तुकबाट जन्मिएका शिशुले पाउने नागरिकताको अधिकार अन्त्य गर्ने ट्रम्पको प्रयासविरुद्ध त्यहाँ अन्य कैयौँ मुद्दाहरू समेत परेका छन् ।
अमेरिकी भूमिमा जन्मने सबै जनाले स्वतः त्यहाँको नागरिकता पाउने व्यवस्था अमेरिकी संविधानमा सुरुमा थिएन । तर गृहयुद्ध अन्त्य भएपछि स्वतन्त्र पारिएका, अमेरिकामा जन्मिएका ‘पूर्वदास’हरूलाई सम्बोधन गर्ने गरी सन् १८६८ मा यस्तो व्यवस्था थपिएको थियो ।
प्रतिक्रिया