‘लाज शरणम्’को नयाँ पोस्टरमा आलमको गेटअपमा ‘धुर्मुस’

231
Shares

काठमाडौं । फिल्म ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मका प्रमुख पात्रका रुपमा सिताराम कट्टेलको भूमिकालाई प्रस्तुत गरिएको छ।

पोस्टरमा सिताराम कट्टेलसहित प्रमुख कलाकार मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाल पनि देखिएका छन् ।

सितारामलाई दौरा–सुरुवाल र ज्वारीकोटमा सजाइएको छ । पोस्टर अनुसार उनी नेताको भूमिकामा रहेको देख्न सकिन्छ । हात उठाएर अभिवादन गरिरहेको दृश्यले उनको राजनीतिक चरित्रलाई उजागर गरेको छ ।

सितारामको यो लुक्सले कांग्रेस नेता मोहम्मद आफताव आलमलाई झल्काउने अनुमान गरिएको छ । अदालतले आलमसहित ११ जनाविरुद्ध २०७६ कात्तिक १८ गते दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जन्मकैदको सजाय सुनाएको छ ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमद्वारा निर्मित फिल्म हो। फिल्मलाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेका छन् । अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, र माला लिम्बु पनि देख्न सकिन्छ। फिल्म जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको हो, जहाँ नवीन श्रेष्ठ निर्माता हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताको भूमिकामा छन् । सुदीप बरालले फिल्मको छायाङ्कन गरेका छन् ।

‘लाज शरणम्’ महाशिवरात्रिको अवसरमा, फागुन १४ गतेदेखि प्रदर्शनमा आउने छ ।