महानगर यातायातले एकैदिन थप्यो टाटा मोटर्सको ४० बस, यस्ता रुटमा सञ्चालन हुने


काठमाडौं । महानगर यातायात प्राइभेट लिमिटेडले आफ्नो कम्पनीमा बिहिबार टाटा मोटर्सको ठूलो क्षमताको ४० वटा नयाँ बस थप गरेको छ ।

बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडमा आयोजित एक कार्यक्रममा उक्त ४० वटा नयाँ बसको साँचो महानगर यातायातलाई हस्तान्तर गरिएको छ ।

कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालका अनुसार १७ करोड लगानीमा यो कम्पनीले २०७२ सालमा ३९ वटा ठूलो क्षमताको बससहित आफ्नो व्यवसायिक यात्रा सुरु गरेको थियो । त्यसपछि समय समयमा गरी फेरी १० वटा बस थपिएको थियो । ति सबै बसहरु चक्रपथ रुटमा गुडिरहेका छन् ।

बिहिबार थपिएको ४० वटा बस गरी अब यो कम्पनीसँग ८९ वटा वस भएको छ ।

थपिएको नयाँ ४० बसको साँचो सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले महानगर यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन उपाध्याय अधिकारीलाई हस्तानान्तर गरेका थिए ।

थपिएको बस पनि बिहिबारदेखि नै चक्रपथको विभिन्न रुटसहित चन्द्रागिरी, गोदाम, थानकोटदेखि काभ्रेको बनेपाहुँदै धुलिखेलसम्मको रुटमार्फत सञ्चालनमा ल्याउन लागिएको अधिकारीले जानकारी दिए ।

साढे ८ मिटर लम्बाई भएको यो बसमा ३२ सिटको सुविधा छ । यो ४० बस खरिद गर्न २० करोड रुपैयाँ लगानी भएको छ ।

पछिल्लो समयमा देशभर विद्युतीय सवारी साधनको ठूलो लहर चलेको भन्दै महानगर यातायातका उपाध्यक्ष सन्तोष खतिवडाले निकट समयमै १० वटा विद्युतीय वसमार्फत सेवा दिन लागिएको जानकारी दिए । आगामी १ बर्षभित्रमा ५० वटा नयाँ विद्युतीय वस थप्ने गृहकार्य भइरहेको उनको भनाई छ ।

यसका साथै आगामी समयमा यो कम्पनीले पव्लिक लिमिटेड कम्पनीको रुपमा बढ्ने तयारी गरेको छ । यसका लागि केहि समयपश्चात सर्वसाधारणको लागि आफ्नो शेयर(आईपीओ) जारी गर्ने छलफल भइरहेको खतिवडाले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उपत्यकामा मास ट्रान्सपोर्टरको रुपमा कम्तिमा १ सय जना यात्रु अटाउने क्षमताको ठूला बसहरु गुडाउन पाउने गरी राज्यले नीति ल्याउनु पर्ने बताए ।

‘राज्यले अहिले राजस्व मात्रै असुल गर्ने उद्देश्यले स साना बसलाई मात्रै प्राथमिकता दिएको छ,’ उनले भने,‘यसले गर्दा उपत्यकाको सडक कुरुप मात्रै होइन जाम पनि त्यतिकै बढेको छ । जामको समस्या समाधान गर्न सडक फराकिलो पारेर मात्रै हुँदैन । ठूला क्षमताका बस गुडाउन आवश्यक छ ।’

सिटौलाका अनुसार अहिले काठमाडौं उपत्यकाको तीन जिल्लामा मात्रै २५ लाखको संख्यामा मोटरसाइकल थपिएका कारण पनि सडक निक्कै अस्तव्यस्त र जाम हुन थालेको छ ।

Skip This