काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
बिहीबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । बुधाबार उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु भएको हो ।
आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको छ ।
बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। त्यसक्रममा त्रिपाठीले लामिछानेलाई प्रहरीको सट्टा परिवारको जिम्मा लगाइएको भन्दै इजलाससमक्ष प्रश्न गरेका थिए ।
वादी तर्फको बहसपछि प्रतिवादीतर्फको बहस हुनेछ । दुवै तर्फका बहस सकिएपछि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधरण तारेख राख्ने मध्य एक आदेश आउनेछ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोगपत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन्।
प्रतिक्रिया