९ वटा बैंकको ईपीएस र ४ बैंकको प्रतिसेयर नेटवर्थ घट्यो, कसको कति ?


काठमाडौं । सेयर लगानीकर्ताले कारोबारको क्रममा बढी ध्यान दिने सूचक सम्बन्धित कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) र प्रतिसेयर नेटवर्थ पनि हो । कम्पनीको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ हेरेर लगानीकर्ताले त्यो कम्पनीमा लगानी गर्ने वा नगर्ने भन्ने सम्मको निर्णय लिने गर्छन् ।

प्रतिसेयर आम्दानी सेयरको मूल्य मूल्यांकन मापन गर्ने महत्त्वपूर्ण आधार यसमानेमा हो कि प्रतिसेयर आम्दानी उच्च भएको कम्पनीलाई राम्रो कम्पनी मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ ।

हालै २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष पुस मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरे । पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार ९ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । यसैगरी ४ वटा बैंकको प्रति सेयर नेटवर्थ घटेको छ ।

वाणिज्य बैंकको नेटवर्थ पुस मसान्तसम्म औसतमा १९०.७२ रुपैयाँ र ईपीएस १४.७१ रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकको ईपीएस घटेको छ । ईपीएस घटेका बैंकमा एनआईसी एशिया, कुमारी, नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, स्टयान्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

एनआईसी एशिया बैंकको ईपीएस २३.५५ रुपैयाँले घटेर २ रुपैयाँ ४ पैसा रहेको छ । कुमारी बैंकको ४.५१ रुपैयाँले घटेर २ रुपैयाँ १ पैसा, नेपाल बैंकको १.७६ रुपैयाँले घटेर ६ रुपैयाँ २७ पैसा, सिटिजन्स बैंकको २.०६ रुपैयाँले घटेर ८ रुपैयाँ ९६ पैसा, सिद्धार्थ बैंकको ८.६३ रुपैयाँले घटेर ७ रुपैयाँ ५५ पैसा, स्टयान्डर्ड चार्टर्डको ३.९५ रुपैयाँले घटेर ३२ रुपैयाँ ६७ पैसा, कृषि विकास बैंकको ६.२६ रुपैयाँले घटेर ११ रुपैयाँ ४७ पैसा, प्राइम बैंकको ३.२२ रुपैयाँले घटेर १९ रुपैयाँ २८ पैसा र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको १६.०२ रुपैयाँले घटेर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

१० रुपैयाँ भन्दा कम नेटवर्थ हुने बैंकहरु एनआईसी एशिया, कुमारी, नेपाल सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेटवर्थ ४ वटा बैंकको घटेको छ । नेटवर्थ घटेका बैंकमा एनआईसी एशिया बैंकको ३.०१ प्रतिशतले घटेर १९८.९२ रुपैयाँ रहेको छ । यस्तै कुमारी बैंकको २.४१ प्रतिशतले घटेर १३३.५१ रुपैयाँ, स्टयान्डर्ड चार्डर्टको १.२६ प्रतिशतले घटेर २०२.९७ रुपैयाँ, कृषि विकास बैंकको १५.२५ प्रतिशतले घटेर १८५.४१ रुपैयाँ छ ।

सबैभन्दा बढी नेटवर्थ राष्ट्रिय वाणिज्य बैंकको ३४१.२७ रुपैयाँ रहेको छ भने दोस्रो स्थानमा रहेको नेपाल बैंकको २६१.९६ रुपैयाँ, तेस्रो स्थानमा रहेको एभरेष्ट बैंकको २२५.७९ रुपैयाँ छ ।

Skip This