आकाशमा एकै साथ ६ ग्रह हेर्ने दुर्लभ अवसर: तपाईंले देख्नु भयो ?


काठमाडौं । आज ६ वटा ग्रह पृथिवीबाट एकै रेखामा देख्न सकिएको छ । यो दुर्लभ क्षण नेपालसहित विश्वका अधिकांश स्थानबाट देख्न सकिने खगोलविद्हरुले जनाएका छन् । शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण आकाशमा एकैसाथ देखिइरहेका हुन्।

नेपालमा आज रात परेसँगै र विशेषगरि साढे ८ बजेको आसपासबाट एकैसाथ ग्रहहरुको परेड देख्न सकिने जनाइएको छ ।

आज (जनवरी २१) मा छुटे पनि त्यो अवसर फेरि फेब्रुअरी २८ मा जुर्ने खगोशास्त्रीहरुको भनाइ छ ।

यी ग्रहहरु आज आकाशमा एकै लाइनमा देखिनेछन्, जुन विश्वका लागि एक अविस्मरणीय दृश्य बन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ग्रहहरूको परेड त्यतिबेला देखिन्छ जब पृथ्वीबाट धेरै ग्रहहरू एकसाथ देखिन्छन् । यसले त्यो अर्थमा ग्रहहरू पूर्ण रूपमा अन्तरिक्षमा एउटै रेखामा नभए पनि, देखिने कोणमा उनीहरूको स्थिति यसरी मिल्छ कि मानिसले यो दृश्यलाई एक साथ देख्न सक्छन् । नासाका अनुसार, यस्तो घटनाहरू, विशेष गरी चार वा बढी ग्रहहरू एकै साथ देखिने क्रम दुर्लभ मानिन्छ ।

यो दुर्लभ घटना हेर्नका लागि केही एपहरुबाट पनि पहिचान गर्न सकिन्छ । Stellarium वेबसाइट वा Time and Date वेबसाइटको Night Sky Map प्रयोग गरेर प्रत्येक ग्रहको स्थान थाहा पाउन सकिन्छ । त्यस्तै, Star Walk 2 एप्पबाट पनि कुन ग्रह हो भनेर छुट्याउन सकिन्छ ।

भेनस, मङ्गल, बृहस्पति र शनि ग्रहलाई नाङ्गो आँखाले देख्न सकिन्छ भने नेप्च्युन र युरेनसलाई दूरबीनको मद्दत बिना देख्न सकिँदैन ।

यद्यपि, ग्रह देख्नका लागि स्थानीय मौसम र प्रदूषणजस्ता कारणहरूमा निर्भर रहने खगोशास्त्रीको भनाइ छ ।

अमेरिकी खगोलशास्त्री ड. जेनिफर स्टोन यो अद्भुत् अवसर भएको बताउँछिन् ।

उनले भनिन्, ‘ग्रहहरूको परेड हामीलाई ब्रह्माण्डको अद्भुत आकार र सँगैको गतिशीलता देखाउँछ । यो एक दुर्लभ अवसर हो, जसले मानिसलाई ब्रह्माण्ड र हाम्रो स्थानको बारेमा अझ गहिरो बुझाइ दिन्छ।’

पूर्वी आकाशमा मङ्गल ग्रह देखिनेछ भने दक्षिणतर्फ र आकाशको माथि बृहस्पति ग्रह देख्न सकिन्छ । पश्चिमतर्फ, शनि र शुक्र ग्रह देख्न सकिन्छ जुन एक आपसमा निकै नजिक हुने खगोलशास्त्रीको भनाइ छ ।