काठमाडौं । भारतमा हुन्डाई क्रेटा इलेक्ट्रिक एसयूभी सार्वजनिक भएको छ । शुक्रबार भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा क्रेटा ईभी लञ्च भएको हो ।
भारतीय बजारमा हुन्डाई क्रेटा ईभी १७.९९ लाख भारु (एक्स-शोरूम) प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ । यो इलेक्ट्रिक गाडीले भारतमा मध्यस्तरको इलेक्ट्रिक एसयूभी बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।
विभिन्न फिचर तथा डिजाइनका आधारमा क्रेटा ईभी एक्ज्युकेटिभ, स्मार्ट, प्रिमियम र एक्सीलेन्स गरी चार भेरियन्टमा उपलब्ध हुने हुन्डाईले जनाएको छ ।
हुन्डाई क्रेटा ईभी दुई प्रकारका ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । ४२ किलोवाट आवर ब्याट्री भएको मोडलले एक पटक चार्जमा ३९० किमीसम्मको रेन्ज प्रदान गर्छ भने ५१.४ किलोवाट आवर ब्याट्री भएको मोडलले ४७३ किमीसम्म यात्रा गर्न सक्षम छ ।
यी ब्याट्रीहरूमा एउटै इलेक्ट्रिक मोटर समावेश छ । सानो ब्याट्रीको साथ मोटरले १३५ पीएस पावर र ठूलो ब्याट्रीको साथ १७१ पीएस पावर उत्पादन गर्छ । चार्जिङ सुविधामा पनि विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ ।
डीसी फास्ट चार्जरको माध्यमबाट १० देखि ८० प्रतिशत चार्ज गर्न ५८ मिनेट लाग्ने छ। घरमा प्रयोग गरिने ११ किलोवाट एसी चार्जरले ब्याट्रीलाई पूर्ण चार्ज गर्न करिब ४ घण्टा समय लिने जनाइएको छ ।
हुन्डाई क्रेटा ईभीको डिजाइन पेट्रोल र डिजेल संस्करणसँग मिल्दोजुल्दो छ । तर, इलेक्ट्रिक मोडलका लागि केही परिवर्तनहरू गरिएको छ । ब्ल्याक-आउट ग्रिल, चार्जिङ पोर्टका लागि विशेष फेन्डर, एक्टिभ एयर फ्ल्याप, र नयाँ बम्पर डिजाइन यसलाई अझ आकर्षक बनाएको छ ।
इन्टेरियरमा यो गाडी अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । १०.२५ इन्चको डुअल स्क्रीन: इन्फोटेनमेन्ट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका लागि। प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट्स, ३६० डिग्री क्यामेरा, र भीटूएल (भेइकल टू लोड) जस्ता सुविधाले गाडीलाई नयाँ स्तरमा पुर्याउने कम्पनीको दाबी छ ।
यस इलेक्ट्रिक गाडीमा अडभान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता प्रविधिहरू समावेश छन् । जसमा: लेन कीप असिस्ट, फर्वार्ड कोलिजन वार्निङ, ब्लाइन्ड स्पट वार्निङ, अडाप्टिभ क्रुज कन्ट्रोल लगायत रहेका छन् ।
६ एयरब्याग रहेको क्रेटा ईभीमा एबीएस विथ ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इडिन्केटर विथ फ्लास एडजस्टमेन्ट जस्ता सुरक्षा फिचर छन् । टिमरसहितको रियर डिफोगर, अटो होल्डसहितको ईपीबी र एफआर क्यामेरा, राडार र आरआर राडारसहितको एडास फिचर गाडीमा छ ।
क्रेटा ईभीले ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले जनाएको छ ।
गाडीको ब्याट्रीबाट अन्य कुरा चार्ज गर्न एवं उपकरण चलाउन भीटूएल, एक्यूआई इन्डिकेटर, ड्राइभ मोडल सिलेक्ट, रियर वाईपर र वासर, क्रुज कन्ट्रोल सुविधा छ ।
भारतमा हुन्डाई क्रेटा ईभीको बुकिङ सुरु भइसकेको छ । भारतमा सार्वजनिक भइसकेको यो गाडी केही समयभित्रै नेपाल आउने जनाइएको छ । हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल हो ।
प्रतिक्रिया