
काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधनको प्रदुषण जाँच कार्यलाई तीब्रता दिएको छ । केही दिनयता राजधानीका विभिन्न स्थानमा सवारीको धुवाँ जाँच भइरहेको हो ।
सो क्रममा काठमाडौंमा गुड्ने डिजेलका सवारी साधनमध्ये ३० प्रतिशत सवारीले निकाल्ने धुवाँ मापदण्ड बाहिरको भएको पाइएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले, ट्राफिक प्रहरी र महानगर प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरेको छ । माइतीघर मण्डलबाट बबरमहलतर्फको सडक खण्डमा जाँचिएका सवारी साधनमा ठुला बस, मिनी बस, माइक्रो बस र सामान ओसार्ने ट्रिपर थिए । २० वटा गाडीको धुवाँ जाँचेकामा ६ वटा मापदण्ड बाहिरका थिए ।
यसैबीच महानगरका मेयर बालेन्द्र साहले सवारी साधनको अवस्था ठिक स्थितमा राख्न अनुरोध गरेका छन् । प्रदुषणको मात्रा धेरै छ र सवारीको अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउन बालेनले आह्वान गरेका छन् ।
‘हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरि राखेको छौं,’ उनले भने ।
यस्तो छ महानगरको मापदण्ड
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ । मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ ।
जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।








प्रतिक्रिया