यी आधार दिँदै अदालतले भन्योः रवि कसुरदार होइनन् भन्ने अवस्था देखिएन



काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभाका निलम्बित सदस्य रवि लामिछाने कसुरदार होइनन् भन्ने अवस्था नदेखिएको बताइको छ । अदालतका न्यायधीश माधवप्रसाद अधिकारीको इजलासले ३ कराण देखाउँदै सहकारी ठगीमा रविको संलग्नता नभएको भन्न नसकिने निष्कर्ष निकालेको हो ।

लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा छाड्न दिएको अदालतको आदेशको निष्कर्षमा मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने उल्लेख छ ।

रवि लामिछाने र गितेन्द्र बाबु राईको नाममा ऋण खाता खोली स्वर्णलक्ष्मी बहुउद्देश्यिय सहकारीबाट ४६ लाख ९८ हजार चारपांग्रे सवारी कर्जा र ४६ लाख ४८ हजार रुपैयाँ इको सेभेन सिटर भ्यान लोन लिएको अदालतको ठहर छ । यसैगरी रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० रूपैयाँ स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको पाइएको छ भने गोर्खा मिडिया नेटवर्कको खाताबाट लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिएका कारण रविलाई कसुरदार नभएको मान्न नसकिने भएको हो ।

रवि लामिछानेले अनुसन्धान अधिकारी र अदालत समक्षको वयानमा ईन्कार रही बयान गरेका थिए । लामिछाने आफू गोर्खा नेटवर्क मिडियाको प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडिया नेटवर्कबाट सेयर खरिद गरि नलिएको, आफूलाई प्राप्त भएका सेयर स्वेट सेयर वापत पाएको बताएका थिए । गोर्खा मिडियाबाट राजिनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई तेतिकै सेयर हस्तान्तरण गरेको उनको बयान छ ।
उनले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडियाको खातामा आएका रकमका बारेमा आफूलाई केही थाहा नभएको बताएका थिए ।

तर, लामिछाने गोर्खा मिडिया नेटवर्कको बिक्रीमा रहेको १ लाख ८० हजार थान सेयरमा लगानी गर्न इच्छा भएको निवेदन मागबमोजिम कम्पनीमा बिक्रीमा रहेको सेयरमध्ये १ लाख ८० हजार कित्ता खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई सेयर लिएको देखिएको छ ।
कम्पनीको सेयर खरिद गरिलिएको देखि लामिछाने गोर्खा नेटवर्क मिडियाको सेयर होल्डर एवं प्रबन्धक निर्देशक समेत रहेको देखिएको अदालतको भनाइ छ ।

लामिछाने गोरखा नेटवर्क मिडियामा शेयर होल्डर एवम् प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी गोरखा नेटवर्क मिडियाको ग्लोबल आईएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको अदालतको ठहर छ । उनी प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडियाको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखिएको अदालतको भनाइ छ ।


क्लिकमान्डु