इजलासमा रवि पक्षका वकिलले गरे यस्तो बहस



काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका वकिलहरूले बहस गरेका छन् ।

गत आइतबार लामिछाने अदालतमा हाजिर भई बयान दिएका थिए । सोमबारबाट थुनछेक बहस सुरू भएको थियो ।

सरकारी वकिलहरूले आफ्नो पक्षमा बहस गरेपछि सहकारी पीडितका वकिलहरूले आफ्नो तर्क राखेका थिए । बुधबार लामिछाने पक्षका वकिलहरूले बहस गरे ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा वकिल रमण श्रेष्ठ र सुशील पन्तले लामिछानेको पक्षबाट बहस गरेका थिए ।

श्रेष्ठले मुद्दामा माग गरिएको बिगोको हिसाब मिल्न नसकेको भन्दै प्रश्न उठाए । लामिछाने सहकारीका सदस्यसमेत नभएको र उनीमाथि लगाइएको आरोप दुषित मनसायले प्रेरित रहेको उनको भनाइ छ।

सहकारीको पैसा गोर्खा मिडियामा आएको भनिएको तर कम्पनीको नाममा जम्मा भएको पैसालाई ठगी मान्न नसकिने उनको दलिल छ ।

श्रेष्ठले सहकारीबाट ठगी गरी गोर्खा मिडियामा पैसा लगिएको कुरा सरकारी पक्षले पुष्टि गर्न नसकेको दाबी गरे ।

सहकारीमा अन्य व्यक्तिहरूले गरेको गल्तीको दोष लामिछानेमाथि लगाउन नमिल्ने उनको भनाइ छ ।

त्यस्तै अधिवक्ता पन्तले लामिछानेबाट प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै बोलाउने बेला अदालतमा हाजिर हुने सर्तमा उनलाई रिहा गर्न इजलास समक्ष माग गरे । पन्तले सहकारी ठगीको दाबी र वास्तविकताबीच ठोस सम्बन्ध नदेखिएको तर्क गरे।

पन्तले पनि गोर्खा मिडियाको सबै सबै कारोबारमा जीबी राईको पकड रहेको बताउँदै सहकारी ठगी प्रकरणमा लामिछानेको दोष नरहेको जिकिर गरे ।

बुधवार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएसँगै बहस सुरु भएको थियो।


क्लिकमान्डु