युट्युबमा हेरेर व्यावसायिक च्याउखेती थालेका वडाअध्यक्ष


नवलपुर (नवलपरासी) । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् नवलपुरका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गरेका छन् ।

समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उनले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियोबाटै सिकेर च्याउखेती सुरु गरेका हुन् । ‘मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन’, उनले भने, ‘युट्युबमा आउने भिडियो हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि अहिले व्यावसायिक रूपमा आफैँले खेती गरेको छु, च्याउ उत्पादन निकै राम्रो भइरहेको छ ।’

वडाध्यक्ष महतोले युट्युबमा राखिएको भिडियोबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी आफ्नै घरमा व्यावसायिक रूपमा च्याउखेती सुरु गरेको बताए ।

उनले सात सय २० वर्गफिटमा संरचना निर्माण गरी डल्लेच्याउ तथा चार सय ५० वर्गफिटमा छुट्टै संरचना बनाएर पातेच्याउको व्यावसायिक खेती गर्दै आएका छन् ।

च्याउखेतीका लागि निर्माण भएका दुईवटा संरचनाबाहेक आफूले दुई लाख ७५ हजार लगानी गरेको र खेतीबाट सन्तुष्ट रहेको बताए ।

महतोले उत्पादन गरेको च्याउ घरबाटै बिक्री हुने गरेको छ । धेरै भएको च्याउ चोरमारा, अरुणखोला, डण्डा, कावासोती तथा नारायणगढको तरकारी बजारसम्म पुर्‍याउने गरेको उनले बताए ।

‘च्याउ उत्पादन राम्रो भए पनि बजारको अलि समस्या छ, उत्पादन गर्ने क्षमतासम्म किसानको हातमा हुन्छ तर बजारीकरण भने व्यापारीको हातमा हुन्छ’, उनले भने, ‘यस क्षेत्रमा बजारीकरणको अलि समस्या नै छ, मेरो आज उत्पादन भएको च्याउ लगेर बिक्री गर्न पाइनँ ।’

गाउँका उपभोक्ता च्याउ खोज्दै आफूकहाँ आउने गरेको भए पनि बजारसम्म भने आफैँले ढुवानी गरिदिनुपर्ने बाध्यता रहेको उनले बताए । च्याउ टिप्न ढिला हुँदा बिग्रिएर जाने भन्दै उनले बिक्री नभएको ताजा च्याउ सुकाएर धुलो बनाएर राख्ने गरेको बताए ।

‘किसान अब उत्पादन क्षेत्रमा जोडिनुपर्छ भनेर राज्य लागिरहेछ, त्यसमा जोडिएपछि नागरिकलाई पनि भन्न सजिलो हुन्छ भनेर यो खेती सुरु गरेँ’, उनले भने, ‘मैले पनि कृषि गरेर उत्पादन गरिरहेको छु, तपाईं पनि गर्नुस् भनेर किसानलाई भन्न सजिलो हुन्छ ।’ राज्यले कृषिमा अनुदान दिइरहेको भए पनि आफूले अहिलेसम्म अनुदान नलिएको उनको भनाइ छ । ‘मैले अनुदान लिएर कृषि सुरु गरेँ भने जनप्रतिनिधि भएर आफैँले अनुदान लियो भनेर भन्छन् । त्यो भन्दा बरु मैले अनुदान नलिई काम गर्छु’, उनले भने, ‘अन्य किसानले भने पालिकाबाट अनुदानका लागि निवेदन माग गरेको बेला सहभागी भएर अनुदान लिएर कृषि गर्नुभयो भने दिगो हुन्छ ।’

सबै जनाले एकैप्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने भन्दै निर्यात गर्नेगरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उनले बताए । राज्यले कृषिमा अनुदान बढाएर किसानको उत्पादन लागत घटाउन मद्दत गरेमा अन्य मुलुकको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ छ ।

च्याउमा कुनै पनि विषादी प्रयोग गर्न नपर्ने उनको भनाइ छ । ‘जसको कारण उत्पादक र उपभोक्ता दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ,’ उनी भन्छन् ।