दक्षिण कोरियामा विमान दुर्घटना अपडेट: १२० जनाको मृत्यु


दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ल्यान्ड गर्ने क्रममा एउटा जेजु एयरको विमान दुर्घटनाग्रस्त भएको छ ।

यो विमानमा १८१ जना सवार थिए, जसमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए ।

दक्षिण कोरियाको अग्नि नियन्त्रण विभागका अनुसार यस भीषण दुर्घटनामा कम्तीमा १२० जनाको मृत्यु भएको छ ।

दुर्घटनाको विवरण

जेजु एयरको यो विमान बैंककबाट दक्षिण कोरिया फर्कंदै थियो । ल्यान्ड गर्ने क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि आगलागी भएको भिडियोहरु सार्वजनिक भएका छन् ।

सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा विमान ठोक्किएपछि ठूलो आगलागी र कालो धुवाँको मुस्लो देखिएको छ।

अग्नि नियन्त्रण विभागले दुई जनालाई जीवितै उद्धार गरेको जानकारी दिएको छ । तीमध्ये एकजना यात्रु र अर्का चालक दलका सदस्य रहेका छन् ।

विमानको पछिल्लो भागबाट उद्धार कार्य जारी छ । घटनास्थलमा ३२ वटा दमकल गाडी र ८० जना उद्धारकर्मी खटिएका छन् ।

विमानमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाइ नागरिक रहेको बताइएको छ ।

दुर्घटनाको यकिन कारण हालसम्म पत्ता लाग्न सकेको छैन । यद्यपि, समाचार एजेन्सी योनहापका अनुसार दुर्घटना चरा ठोक्किएर भएको हुनसक्ने आशंका गरिएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग-मोक घटनास्थलमा पुगेर उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । उनले जनशक्ति, स्वास्थ्य सेवा, र आवश्यक उपकरणको व्यवस्था गर्न आदेश दिएका छन्।

सरकारले पीडित परिवारहरूलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

जेजु एयरले विज्ञप्ति जारी गर्दै यो घटनाका लागि माफी मागेको छ ।
‘हामी यस दुर्घटनाका कारण प्रभावित सबैलाई गहिरो शोक व्यक्त गर्दछौं । उद्धार कार्य र घटनाको छानबिनका लागि हामी हरेक प्रयास गरिरहेका छौं,’ जेजु एयरले भनेको छ ।

विमान निर्माता बोइङको प्रतिक्रिया
दुर्घटनामा परेको विमान बोइङ ७३७-८०० मोडलको हो। बोइङले घटनाप्रति शोक व्यक्त गर्दै जेजु एयरसँग सम्पर्कमा रहेको जनाएको छ ।

दक्षिण कोरियाको विमान सुरक्षालाई विश्वकै सुरक्षितमध्ये मानिन्छ । तर, जेजु एयरको यो पहिलो घातक दुर्घटनाले विमान सुरक्षामा प्रश्न खडा गरेको छ ।

मुआन विमानस्थल राजधानी सिओलबाट करिब २८८ किलोमिटर टाढा रहेको छ । उद्धार कार्य अझै जारी रहेको छ भने दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।