वार्षिक १५५ खर्ब रुपैयाँ भुक्तानी फर्छ्योट गर्ने एनसीएचएल स्थापनाको १६ वर्ष पुरा
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले गर्ने भुक्तानी फछ्र्योट ५४ प्रतिशतले बढेको छ । एनसीएचएलले गत आर्थिक वर्षमा १५५ खर्ब ७५ अर्ब रुपैयाँ भन्दा बढीको १२ करोड ६१ लाख भुक्तानी कारोबार फर्छ्योट गरेको हो ।
एनसीएचएलले देशको ८० प्रतिशतभन्दा बढी क्लियरिङ र सेटलमेन्टको काम गरिरहेको छ भने नेपाल सरकारको सतप्रतिशत कारोबार सञ्चालन गरिरहेको छ ।
वार्षिक यति धेरै कारोबार गर्ने एनसीएचएल स्थापनाको १६ वर्ष पुरा भएको छ । एनसीएचएलको प्रणालीबाट दैनिक औसत ५५ अर्ब रुपैयाँ बराबरको ६ लाखभन्दा बढी भुक्तानी कारोबार हुने गरेका छन् ।
एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबैभन्दा बढी कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र सरकारी निकायलाई सम्मान गरिएको छ । नेपाल सरकारको विद्युतीय माध्यमबाट कारोबार गर्ने नीतिअनुरुपगत आर्थिक वर्षमा एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मानगर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई पनि विशेष अवार्डप्रदान गरिएको थियो ।
सरकारी कारोबार बाहेक सबैभन्दा बढी कारोबार गरी सम्मानित हुने वाणिज्य बैंक ग्लोबल आईएमई, विकास बैंक ज्योति, फाइनान्स कम्पनी गुडविल र भुक्तानी सेवा सञ्चालक/भुक्तानी सेवा प्रदायक खल्ती रहेका छन् ।
एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजतप्राप्त संस्था हो । एनसीएचएलमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा २०६५ पुस ८ गते स्थापित एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो । एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न एनसीएचएल–ईसीसीको शुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो ।
१६ वर्षको यात्रामा, एनसीएचएलले ईसीसी, आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, एनपीआई, नेपाल पे क्यूआर, ईएफटी कार्ड सर्भिस कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ ।