रमपम चाउचाउ उत्पादक एसियन थाइ फुडले बर्सेनी गर्छ ५ अर्बको व्यापार, कति छ ऋण ?



काठमाडौं । रमपम चाउचाउ उत्पादन गर्ने एसियन थाए फुडले १ वर्षमै ५ अर्बको व्यापार गरेको छ । २५ वर्षअघि स्थापित यो कम्पनीले अघिल्लो वर्षको तुलनामा ३ प्रतिशत बढी आम्दानी गरेको हो।

एसियन थाइ फुडले सन् २०२४ मा ४ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेकामा गत वर्ष ४ अर्ब ८८ करोडको व्यापार गरेको हो।

शारदा ग्रुप र जाजु ग्रुपको संयुक्त लगानी रहेको एसियन थाई फुडसले हरेक आर्थिक वर्षमा आम्दानी बढाउँदै लगेको देखिन्छ।

पछिल्लो चार वर्षको व्यापार हेर्दा कम्पनीले सन् २०२१ मा ३ अर्ब ८५ करोड ७० लाख र सन् २०२२ मा ४ अर्व २ करोड ९० लाखको व्यापार गरेको छ।

यो तथ्यांकले कम्पनीले ४ वर्षमै आफ्नो आम्दानी १ अर्बले बढाएको देखाउँछ।

एसियन थाइ फुडसले उत्पादन गर्ने रमपमले हालै नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली जनकपुर बोल्ट्समा सहप्रयोजन गरेको छ । एशियनले रमपमसहित टुपीएम र प्रिती चाउचाउसहित कुरमकुरा, क्रेजी र मामा ब्रान्डको स्न्याक्स पनि उत्पादन गर्छ । सन् १९९९ मा स्थापित एशियन थाई फुड प्राइभेट लिमिटेडको फ्यान्ट्री सुनसरीको सोनापुरमा अवस्थित छ।

५ अर्बको आम्दानी गर्ने एसियनको नाफा मार्जिन ८.७ प्रतिशत रहेको छ । यो मार्जिन सञ्चालन नाफा अर्थात् ब्याज, डिप्रिसिएसन र करअघिको नाफा हो।

यता कम्पनीले नाफा मार्जिनको १.५ गुणा ऋण लिएको देखिन्छ । जसअनुसार कम्पनीको कुल ऋण ६६ करोड रहेको छ।

हालैमात्र कम्पनीले ८४ करोड ६० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । यो सबै अल्पकालीन ऋण हो । इक्राले गरेको रेटिङमा कम्पनीले इक्रा एनपी ए२ रेटिङ पाएको छ।

यो रेटिङ पाउनुको मुख्य कारण बलियो संस्थापक तथा व्यवस्थापन टिमलाई मानिएको छ । शारदा ग्रुप र जाजु ग्रुपको उत्पादन, व्यापार, अटोमोबाइल्स, सिमेन्ट, खाद्यान्न र वित्तीय सेवा क्षेत्रमा लगानी रहेको छ।

एसियनले गर्ने वार्षक आम्दानीको ८४ प्रतिशत आम्दानी चाउचाउबाट मात्र हुने गरेको छ । यसअर्थमा कम्पनीको मुख्य आम्दानीको स्रोत चाउचाउ हो । त्यसबाहेक १६ प्रतिशत आम्दानी चिप्स र कुरकुरेबाट गर्ने गरेको छ।


क्लिकमान्डु