कोलकाताको सट्टा गुजरातको मुन्द्रा ‍र उडिसाको धाम्रा पोर्ट प्रयोगमा ल्याउन कोशीका उद्योगी-व्यवसायीको सुझाव


विराटनगर । कोशीका उद्योगी–व्यवसायीले कोलकाता बन्दरगाहबाट आयात–निर्यात गर्दा विभिन्न समस्या भोग्नु परेको भन्दै विकल्प खोज्नुपर्ने बताएका छन् । कोलकाता बन्दरगाह सानो भएको कारण यसको सट्टा गुजरातको मुन्द्रा पोर्ट र उडिसाको धाम्रा पोर्ट प्रयोगमा ल्याउन सरोकारवालालाई सुझाव दिएका छन् ।

कोलकाता पोर्टबाट नेपाली व्यवसायीले कार्गो ढुवानी गर्दा विभिन्न समस्या झेल्नु परिरहेको र पूर्वाधारको समेत कमी रहेको उद्योगी–व्यवसायीहरूको गुनासो छ ।

आइतबार विराटनगर भन्सार कार्यालय आइसीपीमा महावाणिज्य दूतावास कोलकाताले आयोजना गरेको ‘आयात, निर्यात र लगानी प्रवर्द्धन: मुद्दा, चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगरका उद्योगी–व्यवसायीले महावाणिज्य दूत समक्ष यस्तो आग्रह गरेका हुन् ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडाले कोलकाता पोर्टमा शिपिङ एजेन्टले रकम असुल गर्नुपर्ने भन्दै आफ्ना कन्टेनर रोकेर राख्ने गरेको दाबी गरे । एजेन्टले पाँच लाख रुपैयाँ असुल गर्ने बताई कन्टेनर रोक्ने गरेको उनको गुनासो छ ।

दैनिक डिटेन्सन चार्ज तिर्नुपर्ने हुँदा कार्गो रोकेर राख्दा आफूहरू दोहोरो मारमा परेको शारडाले बताए । गुनासो सुनेपछि महावाणिज्य दूत झक्क प्रसाद आचार्यले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । उनले कुनै पनि समस्या आएमा आफूलाई सोझै सम्पर्क गर्न आग्रह गरे ।

अन्तरक्रियामा नेपाल–भारत व्यापार, पारवहन, लगानीमैत्री वातावरण, भन्सार प्रक्रियाका चुनौती तथा निजी क्षेत्रका अपेक्षासहित विषयमा सहभागीबीच विस्तृत छलफल भयो ।

कार्यक्रममा उपमहावाणिज्य दूत गगनबहादुर बिक, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोरा तथा विराटनगर भन्सार कार्यालयका तर्फबाट भन्सार अधिकृत विमल साहले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै महासंघका केन्द्रीय सदस्य बोहोराले कोलकाता पोर्टजस्तै हल्दिया पोर्टमा पनि महावाणिज्य दूतावासको डेस्क हुनुपर्ने सुझाव दिए । त्यहाँ पनि दैनिक १,२०० कन्टेनर नेपालका लागि आउने गरेको बताए ।

कन्टेनर भाडा महँगो भएको उल्लेख गर्दै उनले १,२०० डलरमा पाउने कन्टेनरको डिटेन्सन दैनिक ६५ डलर हुनु न्यायसंगत नभएको बताए ।

हालै ब्राजिलमा त्यहाँका इम्पोर्टरले डिटेन्सन चार्ज खारेजी माग गर्दै अदालतमा मुद्दा हालेपछि अदालतले डिटेन्सन लिन नपाइने निर्णय गरेको उदाहरण दिँदै उनले नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर भूपरिवेष्ठित मुलुकले पाउने सुविधामा यसलाई समावेश गर्नुपर्ने सुझाव दिए।

बोहोराले कोलकाता पोर्ट पुरानो र सानो भएकाले यसको विकल्पका रूपमा गुजरातको मुन्द्रा पोर्ट र उडिसाको धाम्रा पोर्ट प्रयोगमा ल्याउनुपर्ने औंल्याए ।

विराटनगरको आईसीपीसम्म कार्गो रेल आउने भएकाले दुबै पोर्ट प्रयोग गर्दा दूरीले समस्या नहुने, बरु रेल कार्गोमा प्रतिकिलो १ रुपैयाँ ५० पैसा ढुवानी भाडा बचत हुने बताए ।

मुन्द्रा पोर्टले वार्षिक ३३८ मिलियन टन सामान तथा ८० लाख कन्टेनर ह्यान्डल गर्ने क्षमता राख्छ । उडिसाको धाम्रा पोर्टले ५० मिलियन टन सामान र २५ लाख कन्टेनर ह्यान्डल गर्ने क्षमता छ ।

कोलकाता पोर्टमा ठूला जहाज किनारासम्म आउन नसक्ने, बीचमा साना जहाजबाट सामान ल्याई क्यानलमार्फत किनारासम्म पुर्‍याउनुपर्ने भएकाले अन्य पोर्टभन्दा करिब १०० डलर बढी भाडा तिर्नु पर्ने बोहोराले बताए ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले भारतीय भन्सारबाट नेपाल आउने सामानको इन्भोइस इन्ट्री गर्दा सिस्टमले नदेखाउने हुँदा जीएसटी तिरेर सामान ल्याउनुपर्ने आरोप लगाए ।

भारतीय ल्यान्ड कस्टम जोगवनीका सुपरिटेन्डेन्ट मनिष सिन्हाले कहिलेकाहीँ सिस्टममा समस्या आउँदा मात्र त्यस्तो हुने र गुनासो आएपछि तुरुन्तै सुधार भइरहेको बताए ।

भन्सार एजेन्ट संघका अध्यक्ष देवकिसन शर्मा र सुरेश बोहोराले खाली गाडी पठाउँदा पनि भारतीय भन्सारमा घण्टौँ ढिलो हुने गुनासो गरे। जोगवनीका सिन्हाले खाजाको समयमा केही ढिलाइ हुने बताए। माल लोड भएको गाडीलाई जस्तै खाली गाडीलाई पनि चेकजाँच गर्नुपर्ने भएकाले ढिलो भएको उनको भनाइ थियो ।

अन्तरक्रियामा महावाणिज्य दूत आचार्यले कुनै पनि समस्यामा आफूलाई तुरुन्तै फोन वा मेसेज गर्न आग्रह गरे । मानिसले भनेको आधारमा धारणा नबनाउन सुझाउँदै, कोलकातामा महावाणिज्य दूत भएर पनि साना–ठूला समस्यामा आफैँ स्थलगत गएर समाधान गर्दै आएको बताए । ‘सबै समस्या आफूसँग नै ठोक्किने भएकाले जनशक्ति र पूर्वाधार कम हुँदा पनि स्थलगतरूपमा खटिन्छु,’ उनले भने।

कोलकाता पोर्टमा अहिले समस्या नरहेको, निर्वाचनका कारण केही दिन समस्या भए पनि अहिले समाधान भएको दाबी गरे । कोलकाताको लोड घटाउन अन्य पोर्टमा पठाउन पनि चुनौती रहेको बताउँदै, पूर्वाधार अभावमा पनि काम भइरहेको उल्लेख गरे ।

हाल ठूलो परिमाणमा खुला आकाशमुनी त्रिपालको भरमा मल राख्नुपरेको बताउँदै, साल्ट ट्रेडिङले मल आयात गर्दा ‘कोलकाता पोर्ट’ भनेर टेन्डर खोल्ने भएकाले मल डाइभर्ट गर्न नसकिएको बताए।

भारत सरकारले हाल ठूला सेड निर्माण गर्दै भएकाले सामान सुरक्षामा समस्या नहुने उनले बताए ।

कोलकाता पोर्टको विकल्पबाट पनि सामान आयात–निर्यात गर्न सकिने उल्लेख गर्दै उनले नेपालका उद्योगी, व्यवसायी र किसानले कोलकाताजस्ता ठूला शहरमा हुने एक्स्पोमा सहभागिता जनाएर फाइदा उठाउन नसकेको बताए ।