भारत मोबिलिटी एक्स्पोको पहिलो दिन हुन्डाईको क्रेटा ईभी लन्च हुने, माघमा नेपाल आउने



काठमाडौं । हुन्डाईको बहुप्रतिक्षित कार क्रेटा ईभी भारतीय बजारमा जनवरी १७ मा लन्च हुने भएको छ ।

हुन्डाई इण्डियाका अनुसार भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ को  पहिलो दिनमै हुन्डाई क्रेटा ईभी लन्च हुनेछ । मध्यम आकारको एसयुभी इन्टर्नल कम्बुस्चन इन्जिन (आईसीई)मा लोकप्रिय क्रेटा ईभीमा समेत लोकप्रिय हुने कम्पनीको दाबी छ । लुक्स र डिजाइन क्रेटाको जस्तै हुनेछ भने इन्टेरियरमा केहि परिवर्तन हुने कम्पनीले बताएको छ ।

क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान हुने कम्पनीले बताएको छ । क्रेटा ईभीले भारतमा टाटा कर्भ ईभी, एमजी जेडएस ईभी, महिन्द्रा बिई सिक्स र छिट्टै लन्च हुने मारुती सुजुकी ई भिटारामा जस्ता कारहरुसंग प्रतिस्पर्धा गर्नेछ ।  

हुन्डाई क्रेटा ईभीको इन्टेरियरमा फ्रेस अपडेट हुनेछ । नयाँ स्टीयरिङ ह्वील डिजाइन, ड्यासबोर्ड लेआउटमा परिमार्जन हुनेछ ।

यो नेपालमा समेत प्रतिक्षा गरिएको कार हो । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूह हो । लक्ष्मी समूहको लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी ल्याउने प्रक्रिया समेत थालिसकेको छ । भारत लन्भ लगत्तै ल्याउने तयारी छ । यहि ल्याएर एसेम्बल गर्नुभन्दा आयात गर्नुभन्दा आयात सस्तो पर्छ । सोही कारण कम्पनीले आयात गर्न लागेको छ  । क्रेटा आईसीईभन्दा ईभी सस्तो हुनेछ । क्रेटाको मूल्य नेपाली बजारमा ५४ लाख ५६ हजार रुपैयाँदेखि ७६ लाख ९६ हजार रुपैयाँसम्म पर्छ ।

 ‘आधिकारिक रुपमा कम्पनीले मूल्य सार्वजनिक गरेको छैन । तर आईसीईभन्दा सस्तो नै हुन्छ । आयात गर्दा ईभीमा सहुलियत रहेका कारण सस्तो हुन्छ,’ लक्ष्मी इन्टरकन्टिनेन्टलका एक अधिकारीले भने, ‘जनवरी १७ मा भारतमा लन्च हुन्छ । फेब्रुअरीमा नेपाली बजारमा आइसक्छ ।’

नेपाली बजारमा चिनियाँ ब्राण्डका कारहरु बिवाईडी एट्टो थ्री, एमजी जेड एस ईभी, सेरेस-३ लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

लक्ष्मी ग्रुप अन्तगर्तको लक्ष्मी मोटर्स कर्पोरेसनले नवलपरासी एसेम्बल प्लान्ट स्थापना गरेको छ । यो प्लान्टमा अहिले भेन्यु कार एसेम्बल भइरहेको छ । थप दुई मोडलका गाडी एसेम्बल गर्न लागेको छ  । कम्पनीको ग्राण्ड आइटेन र क्रेटा ईभी एसेम्बल गर्ने योजना छ ।

हुन्डाईको गाडी नेपालमै एसेम्बल गर्न नवलपरासीको रामग्राम-६ मा लक्ष्मी मोटर्स कर्पोरेसनले एसेम्बल प्लान्ट तयार पारिएको छ । बैशाख २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि प्लान्टबाट भेन्यु गाडी एसेम्बल सुरु भएको हो ।

लक्ष्मी ग्रुपले करिब २ अर्ब  रुपैयाँ खर्चेर तयार पारेको एसेम्बल प्लान्ट १० बिघामा फैलिएको  छ । करिब ११ महिनामा यो प्लान्ट तयार पारिएको थियो ।


क्लिकमान्डु