कर्णालीले एनपीएलको उपाधि जित्छः कप्तान सोमपाल



काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायरमा प्रवेश गरको हो ।

प्रतियोगितामा चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको टोलीले इलिमिनेटरमा चितवनसँग प्रतिस्पर्धा गर्दै जित निकाल्न सफल भयो।

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनायो ।

कर्णाली क्वालिफयरमा पुगेपछि कप्तान सोमपाल कामीले सुरुवात देखि नै कर्णालीको नजर उपाधिमा भएको बताएका छन् । दुई खेलमा केही असज अवस्था बनेपछि कमब्याक पछि नजर उपाधिमा रहेको बताएका छन् ।

‘कर्णालीको सुरुवात देखि नै उपाधिमा नजर छ । दुई खेलमा पराजित भएपछि केही कमजोर देखिएपनि हामीले कमब्याक गर्दै क्वालिफायरसम्म पुगेका छौं अब उपाधि नै हाम्रो मुख्य लक्ष्य हो,’ सोमपालले भने ।

प्रतियोगितामा ७ खेलमध्य कर्णालीले ४ खेलमा जित निकालेको थियो । कर्णाली सुरुवातका दुई खेलमा पराजित भएको थियो भने अन्तिम खेलमा पनि पराजित हुन पुगेको थियो । आजको जितले झनै टिमलाई उर्जा मिलेको सोमपालले बताए । जुनसुकै टोली क्वालिफायरमा आएपनि आफूहरु तयार भएको बताए ।

‘आजको जितले टिममा पनि सकरात्मक उर्जा आएको छ । जयकिशन कोल्सावालाको आगमनले पनि टिममा केही सहज भयो । उनलाई जुन भूमिकाका लागि टिममा अनुबन्ध गरेका थियौं त्यो गरेर देखाए,’ सोमपालले भने ।

कर्णालीले अब पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।


क्लिकमान्डु