फाइनल पुग्न सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मेदानमा टस जितेर पहिले ब्याटिङ गरको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।
जनकपुरका लागि जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए । त्यस्तै शुब कंशकारले २६ रन बनाउँदा हर्श ठाकेर र लाहिरु मिलान्थाले १२–१२ रनको योगदान गरे ।
बलिङतर्फ सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । उलने ४ ओभर बलिङ गर्दै २९ रन खर्चे । त्यस्तै सेफ जैबले २ विकेट लिँदा अबिनाश बोहरा र स्कट कुग्लिङले १–१ विकेट हात पारे ।
आजको खेलमा जित निकाल्ने टोली प्रतियोगिताको फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि भएको इलिमिनेटर राउन्डमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायरमा प्रवेश गरको थियो ।