एक रातकै २ लाख पर्ने ‘ले ग्ल्यामर लक्जरी रिसोर्ट’ अर्को साता सञ्चालनमा आउँदै, सवा २ अर्ब लगानी



काठमाडौं । पोखराको मेथलाङमा एक रातको २ लाख रुपैयाँ पर्ने विलासी रिसोर्ट सञ्चालनमा आउने भएको छ । पर्यटकीय नगरीमा अत्यधुनिक तथा लक्जरियस रिसोर्ट खुल्न लागेको हो ।

२०२४ को अन्त्यसम्म सञ्चालनमा आउने लक्ष्यसहित ‘ले ग्ल्यामर लक्जरी रिसोर्ट एन्ड वेलनेस’ अन्तिम चरणमा पुगेको हो । यो पाँचतारे रिसोर्ट २ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ ।

यो हाइ इन्ड रिसोर्ट अत्यधिक खर्च गर्ने पर्यटकलाई लक्षित गरेर बनाइएको छ । रिसोर्टमा २८ वटा सुइट कोठा र ४ वटा भिल्ला हुनेछन् । १ लाख ३१ हजार वर्गफिटमा स्विमिङ पुल, ज्याकुजी, लाइब्रेरी, मेडिटेसन हल, बच्चाहरु खेल्ने स्थल, सेमिनार तथा ब्यांक्वेट हल र स्पालगायत पाँचतारे स्तरको सबै सुविधाहरु उपलब्ध हुनेछन् ।

फेवा तालबाट २.७ माइलको दुरीमा अवस्थित ले ग्ल्याममा आउटडोर स्वीमिङ पुल र स्पा सेन्टर रहनेछ भने पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलसम्म निःशुल्क पिकअप ड्रप सुविधा उपलब्ध गराइने छ । रिसोर्टबाट फेवातालको मनोरम दृष्य नियाल्न मिल्नेछ ।

सुरुमा १ अर्ब ५५ करोड रुपैयाँमा बन्ने अनुमान गरिएकामा रिसोर्ट बन्न २ अर्ब १८ करोड लाग्ने देखिएको हो । भवन निर्माण लागत बढ्ने तथ केही संरचना थपिने भएपछि लागत बढेको हो ।

होटल १ अर्ब ३ करोड ऋण र बाँकी स्वपुँजी लगानीबाट बन्नेछ । गत अक्टोबरसम्मको प्रगतिअनुसार होटल निर्माण कार्य ८५ प्रतिशत सकिएको थियो । डिसेम्बर २३ देखि सञ्चालनमा आउने भन्दै होटलको बुकिङ सुरु भइसकेको छ ।

कैलाश ग्रुप अफ कम्पनीजको लगानी रहेको ले ग्ल्यामरमा टासी गुरुङ प्रबन्ध निर्देशकको रुपमा रहनेछन् । नेपालको पर्यटन क्षेत्रमा कैलाश ग्रुपको सबल उपस्थिति रहेको छ । कैलाश ग्रुप टुर्स तथा ट्राभल एजेन्सी, हेली सर्भिस तथा बुटिक होटललगायत कार्यमा संलग्न छ ।

पर्यटनबाहेक कैलाश ग्रुप निर्माण सामाग्रीको बिजनेसमा संलग्न छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किमि दुरीमा अवस्थित रिसार्टबाट सुर्योदयको ३६० डिग्रि दृष्य, हिमाल, फेवाताल, सुर्यास्त र पोखराको रात्रीकालीन दृष्य अवलोकन गर्न सकिन्छ ।

रिसोर्टमा कुल ४ प्रकारका सुइट रुम र भिल्ला रहेका छन् । जसमध्ये जुनियर सुइटको मूल्य प्रतिरात ३५० अमेरिकी डलर (४७ हजार रुपैयाँ), प्रेसिडेन्सियल सुइटको ५५० डलर (७४ हजार रुपैयाँ), ले ग्ल्यामर सुइटको (८८ हजार रुपैयाँ) र भिल्लाको (२ लाख २ हजार रुपैयाँ) पर्नेछ ।

होटलका प्रबन्ध निर्देशक तथा कैलाश ग्रुप नेपालका अध्यक्ष टासी गुरूङ

रिसोर्टको वेबसाइटमा होटल २३ डिसेम्बरदेखि सञ्चालनमा आउने भन्दै बुकिङ खुला गरिएको देखिन्छ ।

रिसोर्टको व्यवस्थापन गुरुङले गर्नेछन् । उनी कैलाश ग्रुपको संस्थापक अध्यक्ष पनि हुन् । ले ग्ल्यामर रिसोर्ट सन् २००९ मा स्थापना भएको हो ।

गुरुङ मनाङका व्यवसायी हुन् ।

ले ग्ल्यामर रिसोर्टले १ अर्ब ३ करोड ऋणका लागि रेटिङ गराएको छ । यसअघि रिसोर्टले ८६ करोड रुपैयाँका लागि रेटिङ गराएको थियो । १ अर्ब बढी ऋणमध्ये १ अर्ब २ करोड ९६ लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि रिसोर्टले केयर एनपी डबल बी माइनस रेटिङ पाएको छ ।


क्लिकमान्डु