विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग: यातायात मन्त्री



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन् ।

आइतवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गरे । उनले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गरे । उनले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताए मन्त्री दाहालले त्यसको व्यवस्थापन संसारका लागि नै चुनौती बनिरहेको बताए ।

सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोशिस गरिरहेको उनको भनाइ छ ।

‘इलेक्ट्रिक भेकल आजको आवश्यकता हो । र माग पनि हो । मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ । हुनतः इभी नै पूरा समाधान त होइन, किनभने यसका पनि धेरै प्रश्नहरु उठेका छन्,’ उनले भने, ‘जस्तो ब्याट्री डिस्पोजका समस्या आज ज्वलन्त रुपले उठिरहेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा पनि उठेको छ । यसमा हामीले ध्यान दिइरहेका छौँ । तर यो विषय पनि आत्तिहाल्नुपर्ने विषय छैन । ग्लोवल्ली समस्या हो । यसबारेमा चर्चा भइरहेको छ । यसको निकास अवश्य नै निस्केला । नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन हामी कोशिस गरिरहेका छौँ ।’

मन्त्री दाहालले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।


क्लिकमान्डु