सन्दीपले ३ विकेट लिए पनि विराटनगर पराजित, एक विकेटले काठमाडौंको जित



नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले रोमाञ्चक जित निकाल्दै विराटनगर किङ्सलाई एक विकेटले हराएको छ ।

११८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौंले १८.१ ओभरमा १२० रन बनाउँदै खेल जित्यो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । शंकर रानाले १६ रन र दिपेश कंडेलले ११ रनको योगदान गर्दै नटआउट रहेर टोलीलाई जित दिलाए । अन्य खेलाडीमा रसिद खानले १४, जेरार्ड एरासमसले १२, माइकल लेभिटले १० रन बनाए । कप्तान करण केसी भने खाता खोल्न नसकी शून्यमा आउट भए ।

विराटनगर किंग्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे पनि टोली जित दिलाउन असफल रह्यो । कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने बसिर अहमद, अनिल खरेल र क्रिश सोलले समान दुई/दुई विकेट झारे ।

यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा ११७ रन बनाएर सबै विकेट गुमायो। टोलीका लागि राजेश पुलामी मगरले २५ रन बनाए भने दिपक बोहराले २० रनको योगदान गरे ।

स्कट एडवार्डले १५, बसिर अहमदले १३ र निकोलस किर्तनले १२ रन बनाए। काठमाडौंका बलरहरू जेरार्ड एरासमले तीन विकेट लिँदा, दिपेश कंडेलले दुई तथा कप्तान करण केसी, साहव आलम र डन डाउथवेथले समान एक/एक विकेट लिए।

यस जितसँगै काठमाडौंले ६ खेलमा ३ जितसहित ६ अंक जोड्दै आफ्नो स्थान सुधार गरेको छ। तालिकामा काठमाडौं पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ४ अंक जोडेको विराटनगर छैटौं स्थानमा रहेको छ।


क्लिकमान्डु