पीयू र उद्योग संगठन मोरङबीच व्यवसाय सम्वर्धन केन्द्र र स्टार्टअप कार्यक्रम सञ्चालन गर्न सम्झौता
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय र उद्योग संगठन मोरङबीच संयुक्त रूपमा व्यवसाय सम्वर्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न दुई पक्षीय सम्झौता भएको छ ।
यो सम्झौतामा संगठनका स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका फेकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
संगठनले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवाहरुलाई उद्यमशीलतामा प्रेरित गर्दै ईको सिस्टमको विकासमा योगदान पुर्याउँदै आएको छ ।
संघीय सरकारले यस कार्यक्रमको महत्त्वलाई पहिचान गर्दै चालु आर्थिक वर्षको बजेटमा सातवटै प्रदेशमा व्यवसाय सम्वर्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न बजेट छुट्याएको छ ।
सम्झौता अनुसार विराटनगरमा स्थापना हुने व्यवसाय सम्वर्धन केन्द्रले ट्रिपल हेलेक्स पद्धतिअनुसार निजी क्षेत्र, शैक्षिक क्षेत्र, स्थानीय सरकार र संघीय सरकारको सहकार्यमा स्टार्टअप कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेछ ।
संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिकाको सहकार्यमा कार्यक्रमलाई थप संस्थागत गरिने जानकारी दिए ।
यस कार्यक्रमले युवाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले केन्द्रबाट प्रदान गरिने सेवाहरूलाई आवश्यकताअनुसार परिमार्जन गर्दै प्रभावकारी बनाइने बताए ।
कार्यक्रमको पहिलो चरणमा विश्वविद्यालयका १० वटा सम्बन्धन प्राप्त कलेजका ९० जना विद्यार्थीहरुबाट ३० आईडिया छनोट गरिनेछ । हरेक आईडियामा तीन जना विद्यार्थी रहने गरी छनोट गरिएका ३० आईडियालाई दोस्रो चरणमा ७ महिनासम्म केन्द्रबाट स्टार्टअप इको सिस्टम सेवाहरू उपलब्ध गराइने योजना रहेको डा. सन्देशदाश श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले नेपाल सरकार सातै प्रदेशमा व्यवसाय सम्वर्धन केन्द्र तथा स्टार्टअप कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन तयार रहेको बताए ।
कोशी प्रदेशमा उद्योग संगठन मोरङसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिनु निजी क्षेत्रका लागि गर्वको विषय भएको संयोजक सुरेन्द्र गोल्छाले बताए ।
संघीय सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन हुने यो कार्यक्रमले नेपाली युवालाई उद्यमशीलतातर्फ उन्मुख गराई आर्थिक विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।