४ महिनामा भित्रिए सवा ८ अर्बको ३५ सयवटा बिजुली गाडी
काठमाडौं । नेपालमा विद्युतीय गाडीको आयात डेढ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालमा ३४ सय ९८ वटा बिजुली गाडी भित्रिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ८ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्यका गाडी भित्रिएका छन् । यी गाडी आयातबाट नेपालले ५ अर्ब २२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
नेपालमा भित्रिएका बिजुली गाडीको आयात गत आर्थिक वर्षको सोही आवधिको तुलनामा १ अर्ब ५५ करोड रुपैयाँले बढेको छ। गत वर्ष ६ अर्ब ८३ करोड रुपैयाँका बिजुली गाडी नेपाल आएका थिए ।
गत वर्ष साउनदेखि कात्तिकसम्ममा २७ सय ८७ वटा मात्रै गाडी आयात भएकोमा यो वर्षको सोही अवधिमा भने ७११ वटाले बढेर ३४ सय ९८ वटा पुगेको हो ।
चीनबाट आएका बिजुली गाडी ६ अर्ब ५५ करोड भन्सार मूल्यका रहेको छ । यी गाडीबाट राज्यले पछिल्लो चार महिनामा ४ अर्ब २१ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
चीनबाट गत वर्ष सोही अवधिमा १५ सय ७४ वटा बिजुली गाडी भित्रिएका थिए । यी सवारी साधान ४ अर्ब ४६ करोड रुयाँका थिए भने यो वर्ष चीनबाट आउने गाडीको आयात करिब २ अर्ब रुपैयाँले बढेको छ ।
नेपालमा भित्रिएका बिजुली गाडीमा भारतबाट ९६९ वटा आएका छन् । यी सवारी साधन १ अर्ब ७८ करोड रुपैयाँ भन्सार मूल्यको रहेको पनि तथ्यांकले देखाएको छ।