लगानी प्रवर्द्धनबारे निजी क्षेत्रको झकझकाई कर प्रशासनले बल्ल सुन्न थाल्योः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा महांसघले आयोजना गरेको ‘लगानीमैत्री वातावरण प्रवर्द्धनको लागि अन्तरनिकाय समन्वय’ विषयको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्ता बताएका हुन् ।
ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड नै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको जिकिर गरे । विगत केही वर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोकोे रुपमा रहेको लगानी प्रवर्द्धनसम्बन्धि विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशानिर्देश गरेको हुँदा, यो मुद्दाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।
उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोवल बढाई व्यवशायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्ने तर्फ ध्यान दिइएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने चर्चा गरे ।
‘आन्तरिक श्रोतको परिचालन भन्ने वित्तिकै त्यसको प्रत्यक्ष्य सम्बन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुन्छ,’ ढकालले भने, ‘लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवशायजन्य कृयाकलापहरु सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनु पर्छ । यसको लागि व्यवसायमैत्री वातावरण निर्मााणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्बद्ध सबै सरकारी निकायको एकीकृत र समन्वयकारी प्रयासको आवश्यकता छ ।’
आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरु उपस्थित रहेको कार्यक्रममा महासंघ कार्यसमितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुको जिज्ञासालाई सम्बोधन गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामुहिक प्रयासको आवश्यकता रहेको बताए । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम कारवाहीलाई पारदर्र्शी बनाइ समिक्षा हुनु पर्ने बताए ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सारनै औद्योगिक वातावरण प्रवद्र्धनको लागि हो भन्नु हुँदै विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गरे । यसैगरी राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले पछिल्लो समय कर प्रणाली सम्वन्धि नीतिहरु लगानीमैत्री बन्दै आएको बताए ।