बैंकहरुको कुल सम्पत्ति बढ्यो, कति पुग्यो ?
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व बढेको छ ।
नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १२.९ प्रतिशतले बढेको हो । वाणिज्य बैंकहरुको कुल सम्पत्ति तथा दायित्व ८ खर्ब २४ अर्ब २९ करोडले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति/दायित्व ७.५ प्रतिशत अर्थात ४ खर्ब ४७ अर्ब २३ करोडले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन १३.३ प्रतिशतले वृद्धि भएको छ ।
निक्षेप परिचालन ६ खर्ब ७४ अर्ब ७७ करोडले वृद्धि भई २०८१ असार मसान्तमा ५७ खर्ब ४६ अर्ब ९९ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ।
अघिल्लो वर्ष वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन १२.१ प्रतिशत (५ खर्ब ४६ अर्ब ६१ करोड रुपैयाँ) ले बढेको थियो । समीक्षा वर्षमा वाणिज्य बैंकहरूको चल्ती निक्षेप १६.० प्रतिशतले घटेको छ भने बचत तथा मुद्दती निक्षेप क्रमशः २८.२ प्रतिशत र ९.७ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष चल्ती निक्षेप २.६ प्रतिशतले घटेको थियो भने बचत र मुद्दती निक्षेप क्रमशः ८.३ र १९.१ प्रतिशतले बढेको थियो ।
वाणिज्य बैंकहरूको कर्जा तथा लगानी समीक्षा वर्षमा ४ खर्ब १९ अर्ब ७७ करोडले वृद्धि भई २०८१ असार मसान्तमा ५८ खर्ब ७१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वाणिज्य बैंकहरूको कर्जा तथा लगानी ५.० प्रतिशत (२ खर्ब ५९ अर्ब ५२ करोड रुपैयाँ) ले वृद्धि भएको थियो।
समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले वृद्धि भएको छ । २ खर्ब ४६ अर्ब ९५ करोडरुपैयाँले निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि भएको हो । अघिल्लो वर्ष यस्तो कर्जा ३.५ प्रतिशत अर्थात १ खर्ब ४२ अर्ब ८० करोड रुपैयाँले वृद्धि भएको थियो।
चालु आवको असार मसान्तमा वाणिज्य बैंकहरूको तरल सम्पत्ति सरकारी ऋणपत्रमा गरिएको लगानीसहित १५ खर्ब ७३ अर्ब १८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो सम्पत्ति कुल निक्षेपको २७.४ प्रतिशत हुन आउँछ ।
अघिल्लो वर्ष उक्त अनुपात २८.३ प्रतिशत रहेको थियो । तरल सम्पत्तिका अंशहरूमध्ये समीक्षा अवधिमा तरल कोष २.५ प्रतिशतले बढेको छ ।
यस्तै वाणिज्य बैंकहरूको विदेशी बैंक मौज्दात रकम भने घटेको छ । केन्द्रीय बैंकका अनुसार यस्तो रकम ०.८ प्रतिशतले घट्दै असार मसान्तमा १ खर्ब ८९ अर्ब २४ करोड कायम भएको छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात ४.८ प्रतिशत (१२ अर्ब ६० करोड रुपैयाँले) ले बढेर २ खर्ब ७२ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ ।