युवामा बढ्दैछ ठग्ने बानी, आधा साइबर ठग १९-२४ वर्ष उमेर समूहका, एकतिहाइ विद्यार्थी
काठमाडौं । सूचना प्रविधिमाथि सबैभन्दा बढी पहुँच भएका र प्रविधिमा अभ्यस्त १९–२४ वर्ष उमेर समूहका युवा नै साइबर ठगीमा संलग्न रहेको पाइएको छ । पछिल्लो समय बढिरहेको साइबर ठगीमा युवा पुस्ता र उनीहरुमध्ये पनि विद्यार्थीहरु यस्तो कार्यमा अग्रसर रहेको पाइएको हो ।
सो अध्ययनले साइबर प्रविधिमा आधारित ठगीमा संलग्न २ मध्ये १ जना १९-२४ वर्ष उमेर समूहको युवा र ३ मध्ये १ जना विद्यार्थी हुने गरेको देखाएको हो ।
शंकास्पद कारोबारमध्ये ६४ प्रतिशत साइबरमा आधारित ठगी हुने गर्छ । सन् २०२४ को मे मसान्तसम्म कुल ५०१ वटा शंकास्पद कारोबार भएकामा ३१९ वटा (६३ प्रतिशत) साइबरमा आधारित ठगीसँग सम्बन्धित थिए । ३१९ मध्ये १५१ वटा नमुना लिँदा युवा र विद्यार्थी नै अग्रपंक्तिमा रहेको तथ्य अघि सरेको हो ।
साइबरमा आधारित ठगीमा संलग्न व्यक्ति आधा व्यक्ति १९-२४ वर्ष उमेर समूहको हुँदा २१ प्रतिशत २५–३० वर्षको, १६ प्रतिशत ३१–३६ वर्षको र बाँकी १४ प्रतिशत ३६ वर्षभन्दा बढी उमेरको रहेको पाइएको छ ।
यस्तै १५१ मध्ये ४४ जना विद्यार्थी, २७ जना कुनै रोजगार, कृषक र कम्पनीका मालिक १६-१६ जना रहेको पाइएको छ ।
वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको स्ट्राटेजिक एनालाइसिस रिपोर्ट, २०२४ मा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र यस्ता ठगीमार्पmत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै, प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ ।
प्रतिवेदनमा सन् २०२४ को पहिलो ५ महिनामा प्राप्त भएका यस्ता ठगीसम्बन्धी शंकास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट यस प्रकारको शंकास्पद कारोबारमा १९-२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०(१) को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
यसैगरी, अधिकांश शंकास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको ३ महिनाभित्र शंकास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट/पार्सेल फ्रड, सोसियल मिडिया इम्पर्सनेसन, फेक अनलाइन बिजनेस प्लेटफर्म, ओटीपी फ्रड, लोटरी फ्रडलगायतका तरिकाको प्रयोग भएको पाइएको छ ।