रुपन्देहीमा बयान सकिएपछि रविलाई काठमाडौं ल्याउन लागिएको हो?



बुटवल । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान सकिएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

रुपन्देहीमा बयान सकिएपछि लामिछानेलाई काठमाडौं ल्याउने तयारी गरिएको प्रहरी स्रोतको भनाइ छ। कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान सकिएपछि मंगलबार काठमाडौं पठाइएको छ ।

लामिछानेलाई पनि भैरहवामा बयान सकिएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राजधानी लैजाने तयारी रहेको प्रहरी स्रोतको भनाइ छ ।

स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।

जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको प्रहरीले भौचरसमेत फेला पारेको छ।

स्वर्णलक्ष्मीबाट जीबी र रविले दुई पटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको हो।

२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ ।

‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन् ।

दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए । उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन् । गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले फेला परेको जनाइएको छ ।

रूपन्देहीमा सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान चलिरहेको छ । एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक-फरक भएकाले हरेक जिल्लामा छुट्टाछुट्टै मुद्दा दर्ता हुने भएकाले मुद्दा परेका सबै जिल्लामा लामिछानेसहितका आरोपीलाई लैजाने प्रहरीले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा छानबिनका लागि मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिइएको थियो । बयान नसकिएपछि बुधबार पुन: लिन लागिएको छ । लामिछानेलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबार दिउँसोबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका थिए ।

लामिछानेका नामबाट गोर्खा मिडियामा गएको ऋण, रकम जम्मा गरेको भौचर र सुप्रिमबाट अन्य विभिन्न व्यक्ति र संस्थागत रूपमा गोर्खा मिडियामा गएको रकमको विषयमा केन्द्रित रहेर रविमाथि प्रश्न सोधिएको थियो । तर लामिछानेले आफूलाई यसबारे जानकारी नभएको, रकम जम्मा गर्ने व्यक्तिलाई आफूले नचिनेको भन्दै पन्छिएको स्रोतको भनाइ छ ।

बयान नसकिएकाले आज बिहान १० बजेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान हुनेछ । गोर्खा मिडिया, सहकारीको रकम हिनामिनासँग सम्बन्धित विभिन्न ७० वटा प्रश्न तयार गरी लामिछानेसँग बयान लिइएको प्रहरी स्रोतको भनाइ छ । त्यसमध्ये बाँकी प्रश्नहरुमा लामिछानेमाथि बयान लिइने छ ।

मंगलबार २० वटाभन्दा बढी प्रश्नोत्तर भएको तर तर त्यसलाई लेखन गर्न बाँकी रहेको पौडेलले बताए । आज पनि बयान हुने र त्यसलाई उतारिने उनले बताए ।

बयान नसकिएसम्म निरन्तर चल्ने उनको भनाइ छ । मंगलबार बयानपछि सरकारी वकिल कार्यालयबाट बाहिरिँदै लामिछाने खोरमा थुनिँदैमा बाघ स्याल नहुने बताएका थिए।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा, जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र साढे १२ करोड विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।

छविलाई यसअघि नै रुपन्देही लगेर १३ घण्टा बयान लिँदै पोखरा पठाइएको थियो भने रविलाई रुपन्देही ल्याएर बयान लिन लागिएको हो ।

आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहँदा लामिछानेलाई रुपन्देही लगिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु