बाढी पहिरोका कारण देशभर साढे ४६ अर्बभन्दा बढीको क्षति, भौतिकतर्फ मात्रै ३९ अर्ब, अन्य क्षेत्रमा कति ?
काठमाडौं । गत असोज अन्तिम सातातिर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण समग्र मुलुकले ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार रुपैयाँबराबरको क्षति व्यहोरेको छ ।
गत् असोज २६ गतेदेखि २८ गतेसम्म परेको अविरल वर्षासँगै ठूलो बाढी पहिरो आएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरेर हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार बाढी पहिरोका कारण साढे ४६ अर्ब रुपैयाँबराबरको क्षति भएको हो ।
यसमध्ये सबैभन्दा बढी भौतिक पूर्वाधारतर्फ क्षति भएको छ । प्राधिकरणको प्रतिवेदन अनुसार भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख ३५ हजार रुपैयाँबरावरको क्षति भएको छ ।
भौतिक पूर्वाधारतर्फ कोशी, वागमती र लुम्विनी प्रदेशमा सबैभन्दा बढी क्षति भएको हो । मुख्य राजमार्गसहित सहायक राजमार्ग र पुलमा ठूलो क्षति पुर्याएको प्राधिकरणले जनाएको छ ।
बाढी पहिरोका कारण अहिले पनि देशभरको प्रमुख ९ वटा राजमार्ग क्षतिग्रस्त अवस्थामा छन् । यसमध्ये मेची राजमार्ग, बीपी राजमार्ग र अरनिको राजमार्गमा सबैभन्दा बढी क्षति भएको हो ।
प्रतिवेदन अनुसार दिक्तेल– गाइघाट सडक खण्डमा पर्ने खोटाङ्ग– खोटेहाङ्ग सडक, अरनिको राजमार्गमा सिन्धुपाल्चोक–भोटेकोशी सडक, पृथ्वी राजमार्गमा पर्ने राम्चे–मरर्र्साङ्गदी सडक, पुष्पलाल राजमार्गअन्तर्गत रामेछाप– मन्थली सडक, रामेछाप–सिन्धुली अन्तर्गत रामेछाप–खाँडादेवी खण्ड, राम्चे–सिन्धुली राजमार्गमा पर्ने राम्चे खोला जोडिएको सडक खण्ड, मेलम्ची राजमार्गमा पर्ने सिन्धुपाल्चोक सडक र हिल्सा खण्डमा पर्ने हुम्ला–सिमकोट सडक खण्ड बाढी पहिरोका कारण अहिले पनि बन्द अवस्थामै छ ।
यसवाहेक बाढी पहिरोका कारण सडक बगेकाले बीपी राजमार्ग अन्तर्गत काभ्रे–रोशी पिप्ले खण्ड, सोही राजमार्ग अन्तर्गत काभे्र, रोशी, चिउरेबारी, दाउन्ने, नार्के, विरुवा डाँडालगायतका स्थान, पृथ्वी राजमार्गको धनकुट्टा– वेनिघाट खण्ड, कालापानी सडक अन्तर्गत धनकुट्टा–सिसकाटे खण्ड, नुवाकोट सडक अन्तर्गत ककनी खण्ड त्रिभुवन राजमार्ग अन्तर्गतको ककनी खण्ड बैकल्पिक व्यवस्था मिलाएर ‘एकतर्फी’ बाटो मात्रै सञ्चालन गरिएको छ ।
बाढी पहिरोका कारण देशभरको सडकमध्ये ४१ वटा सडक खण्डमा क्षति पुगेको थियो । यस्ता सडक पुनः निर्माण गर्न कम्तिमा २७ अर्ब ९८ करोड रुपैयाँ लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ ।
यसैगरी १ अर्ब ४ करोड २० लाख रुपैयाँबराबर ४४ वटा विभिन्न पुलहरु क्षतिग्रस्त भएको छ ।
प्रतिवेदनअनुसार ओखलढुङ्गाको सुनकोशी खोला पुल, खार्ते खोला पुल, मोलुङ्ग खोला पुल, भोजपुरको सुनकोशी खोला पुल, खोटाङ्ग, उदयपुर र सिन्धुलीको एक–एक गरी ३ सुनकोशी पुल, काभ्रेप्लाञ्चोकको रोशी खोला पुल, चितवनको त्रिशुली खोला पुल, धादिङ्गको त्रिशुली पुल, नवलपरासीको नारायणी पुललगायत बाढी पहिरोका कारण क्षतिग्रस्त भएको हो ।
कृषिमा ५ अर्ब ८८ करोड २८ लाखको क्षति
प्राधिकरणको प्रतिवेदन अनुसार बाढी पहिरोका कारण समग्र कृषि तथा पशुपन्छीतर्फ ५ अर्ब ८८ करोड २८ लाख रुपैयाँबराबरको क्षति भएको छ ।
जसमध्ये सबैभन्दा बढी धानवालीतर्फ क्षति भएको छ । मेची, मधेश, गण्डकी, वागमती र सुदुरपश्चिमको २० जिल्लाको ५८ हजार ४ सय ७६ हेक्टरको ३ अर्ब ५० करोड रुपैयाँबराबरको धानवाली नष्ट भएको छ । यसले गर्दा यो बर्ष राष्ट्रिय खाद्य सुरक्षामा ठूलो प्रभाव पार्न सक्ने औल्याइएको छ ।
यस्तै कोशीमा ७० करोड रुपैयाँबराबरको १ हजार ३ सय हेक्टरको अलैंची, मधेशमा ३४ करोड रुपैयाँबराबरको ८५ हेक्टरको उखुवाली, मधेशमै १ अर्ब १३ करोड रुपैयाँबराबरको ४ सय ५८ हेक्टरमा भएको माछा, कोशी, वागमती र मधेशमा ४ हजार ७ सय ४३ हेक्टरमा लगाइएको तरकारी खेतीका साथै फलफूलवाली, मकै खेती बाढीका कारण नष्ट भएको छ ।
भौतिक पूर्वाधारतर्फ मात्र १६ करोड रुपैयाँबराबरको क्षति भएको छ ।
सिंचाईतर्फ १ अर्ब ३५ करोडको नोक्सानी
बाढी पहिरोका कारण समग्र सिंचाईतर्फ करिब डेढ अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ । जसअनुसार सुनसरी–मोरङ्ग सिंचाई आयोजनातर्फ ५ करोड, वागमती सिंचाई आयोजनातर्फ ५ करोड ४० लाख, झाँझ सिंचाई आयोजनातर्फ ३ करोड, कोशी पम्प–चन्द्र नहरतर्फ ५० लाख, कमला सिंचाई आयोजनातर्फ ५ करोड, नारायणी सिंचाईतर्फ १० लाख र महाकाली सिंचाई आयोजनातर्फ १ अर्ब १४ करोड रुपैयाँबराबरको क्षति भएको छ ।
खानेपानी तथा सरसफाईतर्फ
संघीय सरकार र प्रदेश सरकार मातहतको १ हजार ६ सय ७८ खानेपानी संरचनामा क्षति भएको छ । यसले गर्दा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँबराबरको क्षति भएको छ ।
उर्जामा ३ अर्बको क्षति
असोज अन्तिम सातामा वर्षासँगै आएको बाढी पहिरोका कारण समग्र उर्जा क्षेत्रमा ३ अर्ब ८ करोड १३ लाख रुपैयाँबराबरको क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
जसमध्ये सञ्चालनमा रहेको हाइड्रो पावर आयोजनातर्फ २ अर्ब ३५ करोड रुपैयाँबराबरको ११ वटा क्षतिग्रस्त भएको थियो । यसले गर्दा उक्त आयोजनाबाट कूल ६२५ मेगावाट विजुली उत्पादन अवरुद्ध भएको छ ।
यस्तै निर्माणको क्रममा रहेको १५ वटा हाइड्रो पावर आयोजनातर्फ ६५ करोड, डिस्ट्रिव्युसनतर्फ १ करोड ३८ लाख र ट्रान्समिशन लाइनतर्फ ६ करोड ७५ लाख रुपैयाँबराबरको क्षति भएको छ ।
सञ्चारतर्फ १५ करोड २३ लाख क्षति
प्राधिकरणको प्रतिवेदनअनुसार सञ्चार क्षेत्रतर्फ १५ करोड २३ लाख रुपैयाँबराबरको क्षति भएको छ । फाइवर टु द होम, अप्टिकल ग्राउन्ड वायर, सपोर्टिङ्ग केवल लाइनतर्फ यो परिमाणमा क्षति भएको हो ।
टेलिकम्युनिकेशनतर्फ ४४६ वटा टेलिकम्युनिकेशन युनिट क्षति भएको छ ।
स्वास्थ्य क्षेत्र: २ करोडको क्षति
बाढी पहिरोकै कारण वागमती, मधेश र कोशी प्रदेशमा ६ वटा स्वास्थ्य उपचार केन्द्र पूर्ण रुपमा क्षति ग्रस्त भएको छ भने आँशिक रुप्मा ४३ वटा क्षतिग्रस्त बनेको छ । स्वास्थ्य क्षेत्रतर्फ मात्रै २ करोड १७ लाख रुपैयाँबराबरको क्षति भएको छ ।