व्यापारका लागि अबको प्लेटफर्म इ-कमर्श नै हो



व्यापार विज्ञ रत्नाकर अधिकारी विश्व व्यापार संगठन अन्तर्गतको इनह्यान्स इन्ट्रिग्रेटेड फेमवर्क (इआइएफ)को कार्यकारी निर्देशक हुन् । इआइएफले नेपालसहित अल्पविकसित देशहरुको व्यापार अभिवृद्धिका लागि सहयोग गर्दै आएको छ ।

विश्व स्तरमा ठूलो संस्थाको नेतृत्व पुग्ने सिमित नेपालीमा अधिकारी पर्छन् । नेपाललाई डब्लुटिओको सदस्यता दिलाउने समयमा नीति निर्माण तहमा काम गरेका अधिकारी गत साता नेपाल आएका थिए । दक्षिण एशियाली आर्थिक सम्मेलनमा भाग लिन नेपाल आएको समयमा अधिकारीसँग क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानी

नेपालको अर्थतन्त्रलाई कसरी हेर्नु भएको छ ?

नेपालको अर्थतन्त्र सुधार हुनेमा म आशावादी छु । निर्वाचन हुन लागेको छ । यसले स्थायी सरकार दिने छ । सरकार हरेक वर्ष परिवर्तन हुँदा नीतिगत स्थिरता नहुँने समस्या थियो । अब स्थानीय तहमा २० वर्षपछि निर्वाचित प्रतिनिधि आए । यसले अब काम राम्रो होला भन्ने देखिन्छ ।

निजी क्षेत्रमा पनि प्रतिस्पर्धाको वातावरण बढेर गएको छ । उनीहरुले पनि सरकारलाई दवाव दिएको छ । सरकारी कर्मचारीको भावाना पनि परिवर्तन हुँदै गएको छ । सन् २००८ को अवस्था भएको भने नराम्रो हुन्थ्यो । त्यो बेला विश्व अर्थतन्त्रको अवस्थापनि राम्रो थिएन । अहिले विश्वको वातावरण लगानी, व्यापारको लागि राम्रो छ । नेपालको सवालमा रेमिटेन्सको स्थितीपनि खराब बनिसकेको छैन । यसको लागि नीतिगत स्थिरता चाहियो । यस्तै निजी क्षेत्रले पनि सरकारले यसमा सहयोग गरेन भन्नुभन्दा जे छ, त्यसबाट गर्दै जाउ सहयोग आउँछ भन्नेमा जानुपर्छ ।

तथ्यांक हेर्दा हाम्रो निर्यात व्यापार अत्याधिक खस्केको छ, कसरी बढाउने ?

निर्यात नेपालको कमजोर छ । यो बढाउनको लागि सप्लाई क्यापासिटी बढाउनु पर्नेहुन्छ । विश्वमा व्यापार गर्ने दायारा फराकिलो बन्दै गएको छ । सानो भन्दा पनि सानो वस्तु निर्यातको लागि अब इ-कमर्श बिकल्प भएर आएको छ । इ–कमर्श प्लार्टफर्मलाई प्रयोग गर्नुपर्छ ।

इ-कमर्शबाट हामीले कसरी फाइदा लिन सक्छौ ?

पछिल्ला वर्षमा विश्वको व्यापार प्रणालीमा परिवर्तन आयो । सन् २०१५ मा २५ ट्रिलियन डलरको व्यापार इ-कमर्शबाट भयो । सन् २०१३ देखि २०१५ सम्ममा ३ गुणाले बढेको देखिएको छ । विश्वको व्यापार बृद्धिदरलाई हेर्दा इ कमर्शको बृद्धिदर बढी छ । जसमा बिजनेश टु बिजनेश २२ ट्रिलियन डलरको छ भने बिजनेश टु ३ ट्रिलियन डलरको छ ।

इ–कमर्शबाट हामीलाई अवसर पनि छ चुनौती पनि छ । जसरी हामीलाई विश्व व्यापार संगठन (डब्लुटिओ) को सदस्य लिँदा अवसर थियो या साफ्टामा जाँदा भएजस्तै खालका अवसर र चुनौती दुवै छन् ।

यसबाट सबैभन्दा ठूलो फाइदा व्यवसाय सानो होस् या ठूलो होस् सबैले समान अवसर पाउने छन् । युवाहरुले यसमा ठूलो अवसर पाउँछन् । प्रविधिको क्षेत्रमा युवाहरु बढी काम गरिराखेका हुन्छन् ।

हामीले इ-कमर्श भनेको सेवाको मात्र व्यापार हो भन्ने सोचेका छौं होला । सर्भिसको व्यापार इ-कर्मशबाट भएको छ । जस्तो होटल बुकिङ गर्ने खालका कामहरु । यस्ता खालका क्षेत्रमा नेपाली व्यवसायीहरु धेरै अघिदेखि लागेका थिए । वस्तु व्यापारमा पनि इ–कमर्श आक्रामक ढंगले अगाडि आएको छ ।

विश्व बजारमा सप्लाई चेन र ग्लोबल भ्यालु चेनलाईं लिङ्क गर्ने हिसाबले इ-कमर्श आइरहेको छ । यसबाट बिजेनश टु बिजनेश कारोबार (बिटुब)को कारोबार बढी छ । यस्तै बिजनेश टु कन्जुमरको पनि बढ्दै छ ।

विश्व व्यापारमा बढेका अमेजन तथा अलिबाबा जस्ता ठूला कम्पनीको कारोबार बढ्दै छ । यसमा हामी कसरी जोडिन सक्छौ ?

अहिले विश्वको बजारमा अमेजन र अलिबाबाको प्रतिस्पर्धा छ । यस्तै अरु खालका कम्पनी छन् । हामीले इ-कमर्शमा जानको लागि एउटा
स्मार्ट फोनले फोटो खिचेर वस्तुको विशेषता बताएर इन्टरनेटमार्फत अमेजन र अलिबाबामा बिक्रीको लागि राख्न सक्छौ । अहिले विश्वको व्यापारमा यस्ता खालका कम्पनीको प्रभाव बढ्दै छ । उनीहरुको मात्र अधिपत्य बढ्दा के होला भन्ने कुरा आउनसक्छ । जस्तो पहिले अमेजन मात्र थियो । यो नै व्यापारमा जायन्ट कम्पनी हुन्छ र एकाधिकार गर्छ कि भन्ने डर थियो । पछि अलिबाबा आक्रामक ढंगले अगाडि आयो । भारतमा पनि यस्तै फ्लिपकार्ड जस्तै कम्पनीहरु आएका छन् ।

यिनीहरुले पनि प्रतिस्पर्धा दिन सकेनन् भने आन्तरिक प्रतिस्पर्धाको कानून र नीतिले क्षेत्रिय र अन्तराष्ट्रिय रुपमा नियमन गर्न सकिन्छ । ठूला जहाजमा विश्वमा एयरबस र बोइङ मात्र कम्पनी छन् । यिनीहरुलाई ग्लोबल कम्पिटेशन फेमवर्क भित्र नियमन भइरहेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा हाम्रोमा पूर्वाधारको विकास भएको छैन । तर,यसको प्रयोग भने जसरी पनि गर्नुपर्छ । एउटा उदाहरण दिन्छु । रेल छुट्न थाल्यो । हामी सामान्य सामान लिएर रेल चढ्ने कि सबै सामान प्याक गरेर रेल चढ्छु भनेर लाग्ने । सबै सामान लिएर जाँदा रेल छुटिसकेको हुन्छ ।

अहिले हाम्रो अवस्था त्यही हो । हामी पूर्वाधार छैन हामी इ-कमर्शमा जान सक्दैनौ भनेर बस्ने वा जाने र हामीले सक्ने जति फाइदा लिन खोज्ने ?

तर, पूर्वाधारको विकास भएको छैन । हामीले पूर्वाधारबिना यसमा इ–कमर्शमा कसरी जान सक्छौ ?

पूर्वाधार समस्या हो । तर, मोबाइलको पहुँचलाई हेरौ त । यस्तै इन्टरनेट प्रयोगकर्ताको संख्यालाई हेरौ । मोबाइल सबैमा पुगिसकेको छ । यस्तै इटरनेट प्रयोगकर्ता पनि हरेक वर्ष बढ्दै गएका छन् । यसले हामीलाई डराउन पर्ने आवश्यकता छैन । मोबाइल सेवा प्रदायक कम्पनीहरु अहिले सहरबाट गाउँ हुँदै दुर्गम क्षेत्रमा पुगिरहेका छन् । प्रविधिमा लगानी बढ्दो छ ।

अर्को ठूलो समस्या देखिएको दक्ष जनशक्तिको अभाव हो । अहिले हरेक वर्ष ५ हजार जना आइटी पढेका जनशक्ति तयार हुन्छन् । पढाउने कलेजहरु र बजारको मागको दायरा फरक भयो । निजी क्षेत्र र कलेज तथा विश्व विद्यालयसँग सहकार्य भयो भने बजारलाई चाहिने खालको कोर्स बनाएर गर्न सकिन्छ ।

आइटी पढेकाहरु सबैले जागिर खानुपर्छ भन्ने पनि छैन । उनीहरुले आफ्नो व्यवसायपनि सुरु गर्न सक्छन् । नेपालमा भेन्चर क्यापिटलको अवधारणा पनि विकसित हुँदै गएको छ ।

इ-ट्रेड बढाउनको लागि हामीले गर्नुपर्ने काम के के हो ?

पूर्वाधार क्षेत्रमा सरकार मात्र लाग्नुपर्ने भन्नै छैन । निजी क्षेत्रले पनि काम गर्नुपर्छ । सरकारले नीति बनाउनु पर्यो त्यसलाई कार्यान्वयन गनुपर्यो ।

स्किल मिसम्याचलाई निजी क्षेत्र र विश्वविद्यायले मिलेर काम गर्नुपर्यो । सबैभन्दा ठूलो रोल राष्ट्र बैंकको छ । एउटा पेमेन्ट सोलुसोन हो । ठूलो चार्ज नलाग्ने स्थितीमा काम हुनुपर्यो । यसको लागि उच्चस्तरीय समिति गठन भएको पनि रहेछ । यो समितिले राम्रो नीति सुझाव गरेर कार्यान्वयन गर्नुपर्छ ।

अर्को समस्या वित्तीय पहुँच हो । अहिलेपनि साना मझौला व्यवसायीमा वित्तीय पहुँच पुगेको छैन । उनीहरुलाई बैकिङ कारोबारमा संलग्न गराउनुपर्यो । सूचना प्रविधिलाई प्राथमिकता क्षेत्रमा राख्नुपर्यो ।

सरकारले गर्नपर्ने व्यापारमा सहजिकरण यो सरकारले नै गर्नुपर्यो । भन्सारको सुधार तथा आधुनिकरण गर्नुपर्ने हुन्छ । डब्लुटिओको व्यापार सहजिकरणको लागि एडिबीबाट सहयोग आएको छ । व्यापार सहजिकरणमा यसमा सबै कुरा पुरा हुन्छन् । पेपर लेस ट्रेडका कुरा यसमा रहेका छन् ।

नियमन र ऐन कार्यान्वयनको लागि सरकारले काम गर्नुपर्छ । ऐन कार्यान्वयन नै ठूलो समस्या छ ।

इ-कर्मशबाट आउने चुनौती कस्ता हुन्छन् ?

यसमा सुरक्षा लगायतका केही चुनौतीहरु रहेका छन् । इ-कमर्श साइबर क्राइमको इस्युपनि छ । हामीले क्षेत्रिय खालका प्लाटफर्म पनि प्रयोग गर्न सक्छौ ।

सुरक्षाको इस्यु, उपभोक्ताको सुरक्षा महत्वपूर्ण कुरा हो । भारतमा आधार कार्ड बनाएको छ । भारतमा रासन कार्डको सिस्टम छ । हाम्रो यातायात व्यवस्थामा लाइसेन्सलाई डिजिटलाइज गर्यो भने । नागरिकतालाई डिजिटल बनाउनुपर्ने हुन्छ । अहिले जे गर्न पनि नागरिकताको फोटोकपी चाहिन्छ । १६ वर्ष उमेरमा निकालेको नागरिता कहिलेसम्म काम गर्ने ?

अर्को कुरा ठेगाना पनि पत्ता लगाउन सकिने खालको छैन । त्यो गर्नको लागि रिफर्म गर्न पर्यो । नागरितालाई हामीले धेरै विश्वास गर्यौ । कसरी पत्ता लगाउने । कार्ड बनाउर स्वाइप गरेको आधारमा सबै नम्बर आउने गर्यौ । इ-कमर्शको व्यापारकोलागि क्रेडिट कार्ड चाहिन्छ ।

इआइएफले नेपालमा कस्तो खालको सहयोग गरिरखेको छ ?

नेपालको हाम्रो एनालिटिकल क्षेत्रमा इआइएफले सहयोग गर्यो । जसबाट एकीकृत व्यापार रणनीति तयार भयो । अहिले यसको तेस्रो संस्करण चलिरखेको छ । त्यसमा हामीले इआईएफको लिमिटेड स्रोत छ ।

हाम्रो दोस्रो सहयोग संस्थागत सहयोग हो । यसमा हामीले काम गरिराखेका छौ । हेर्दा खेरी सानो सहयोग देखिन्छ । तर, कामहरु भइराखेका छन् । हामी तयार पारेका एनटिआईसकै आधारमा विश्व बैंकले मुग्लिन नारायणगढको बाटो बन्दै छ । यस्तै युरोपियन युनियनले सहयोग गरेको छ ।

तेस्रो पाटो उत्पादन क्षमता विस्तारमा हामीले सहयोग गरेका छौं । नेपालले उत्पादन क्षमता बृद्धिमा ३ वटा क्षेत्रमा सहयोग पाएको छ । सबैभन्दा बढी सहयोग पाउने देशमा नेपाल नै पर्छ ।

नेपालमा अदुवा प्रोसेसिङ मेसिन हामीले तयार पार्यौं । यसको माध्यमबाट अदुवा उत्पादन तथा किसानको क्षमता र आयआर्जन बढाउने छ । झापामा अदुवा वासिङ मेसिन तयार भएको छ । यो अब संचालनमा आउने तयारीमा रहेको छ ।

अन्तराष्ट्रिय व्यापार केन्द्रको सहयोगमा पश्मिना उत्पादन बृद्धिमा सहयोग गरिराखेका छौ । अन्तराष्ट्रिय क्षेत्रमा च्याङ्ग्रा पश्मिनाको ट्रेडमार्क दर्ता गर्दै जाने यो प्रोजेक्टमा गर्न काम हो । पश्मिनाको सम्भावना राम्रो छ । तर, यसको उत्पादन बृद्धिमा सोचे अनुसार काम भएको छैन । अहिले आइटिसीले काम गरिरहेको छ । जापान सरकारले पनि च्याङ्ग्रा पालनमा सहयोग गरिराखेको छ । यसले नेपालको ब्राण्डलाई चिनाउन सहयोग सहयोग गर्छ ।

अर्को हामीले मेडिसिनल एण्ड एरोमेडिसिनको बारेमा प्रोजेक्ट गरेका छौ । किसानलाई तालिम दिने राम्रो बिउँ बिरुवा उपलब्ध गराउने यसमा संलग्न छ । यो पश्चिम क्षेत्रमा संचालिन छ । यो प्रोजेक्ट विस्तारै रिजल्ट देखाउने छ ।


पुष्प दुलाल