आँखुखोला हाइड्रो पावरको साधारणसभा स्थगन, अध्यक्ष र २ सञ्चालक भित्री कारोबारमा संलग्न



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको बार्षिक साधारण सभा स्थगन भएको छ ।

कम्पनीले सोमबारका लागि बोलाएको बार्षिक साधारणसभा स्थगन भएको हो । सोमबार सभामा गणपुरक संख्या नपुगेका कारण स्थगन भएको कम्पनीले जनाएको छ ।

कम्पनीको कात्तिक १२ गतेका लागि बोलाएको १७ औं वार्षिक साधारण सभा बोलाएकोमा सेयरधनी दर्ता किताब बमोजिम जम्मा २२ प्रतिशत प्रोक्सी र १ प्रतिशत मात्र सेयरधनीहरु स्वउपस्थित भएका थिए ।

‘साधारण सभा संचालनका लागि कम्पनी ऐन, २०६३ को दफा ७३ (२) तथा कम्पनीको नियमावलीको नियम २३ बमोजिम आवश्यक गणपुरक संख्या नपुगेको हुनाले आज बोलाइएको साधारण सभा स्थगीत भएर पुनः सुचना प्रकाशित गरी वार्षिक साधारणसभा बोलाइने व्यहोरा जानकारी गराइन्छ’ जारी सूचनामा उल्लेख छ । कम्पनीले सभा पुनः सूचना जारी गरेर मात्रै गर्ने भएको छ ।

तोकेको समयमा सभा गर्न नसकेका कम्पनीका अध्यक्षसहित २ सञ्चालक भने धितोपत्र ऐन विपरित कारोबारमा संलग्न छन् ।
कम्पनीको सञ्चालक भएको समयमा ५ वर्षको अवधिमा कानूनबिपरित पटक–पटक गरी ९२ हजार ८०० कित्ता सेयर बिक्री गरेका छन् ।

कानूनबिपरित सेयर बिक्री गर्ने सञ्चालकलाई धितोपत्र ऐन, नियमावली तथा निर्देशिकामा भएको कानूनी व्यवस्था अनुसार कारबाही गर्नु पर्नेमा धितोपत्र बोर्डले लगानीकर्ता ठगिने गरी १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले साउन २७ गते देखि १ः१.५ अनुपातमा १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरिसकेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ । यसअघि नै हकप्रद सेयर जारी गरेको कम्पनीले सेयरधनीलाई लाभांश दिएको छैन ।

सेयरधनीको हात खाली बनाएको कम्पनीका अध्यक्षसहित दुई सञ्चालक भने कानून विपरित सेयर बिक्री गरेर बसेका छन् ।
कम्पनीको सञ्चालक समिति अध्यक्ष राम श्रेष्ठ र दुई सञ्चालक रामप्रसाद सापकोटा र दिनेश प्रसाद श्रेष्ठले कानून विपरीत ९२ हजार ८०० सेयर बिक्री गरेका छन् ।

कम्पनीले २०७५ असोज २२ गतेबाट छिटोमा असार २५ गते र ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन मिल्ने गरी आईपीओ निष्कासन गरेको थियो । त्यो समयमा कम्पनीका अध्यक्ष राम श्रेष्ठ रहेका थिए । उक्त समयमा ४३ वर्ष रहेका काठमाडौं महानगरपालिका २९ का श्रेष्ठसँग कम्पनीको ३५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । २०७५ असोजसम्म उक्त कम्पनीका सञ्चालक रामप्रसाद सापकोटासँग ८३ हजार कित्ता सेयर रहेको थियो भने सञ्चालक दिनेश प्रसाद श्रेष्ठसँग ५० हजार कित्ता सेयर रहेका थियो ।

करिब ६ वर्षपछि अर्थात् २०८१ साउन २७ गते कम्पनीले हकप्रद सेयर निष्कासन गरेको अवधिमा आइपुग्दा कम्पनीका अध्यक्ष ५१ वर्षका राम श्रेष्ठसँग १५ हजार कित्तामात्रै सेयर बाँकी छ । उनले आफू कम्पनीको अध्यक्ष भएको समयमा आफ्नो स्वामित्वमा रहेको २० हजार कित्ता सेयर कानूनबिपरित बिक्री गरेका छन् । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा तयार पारेको विवरण पत्र र आईपीओ निष्कासन गर्दा तयार पारेको विवरण पत्रमा उनको उमेरसमेत मिल्दैन । आफ्नो उमेर समेत गोलमोटल बनाएका श्रेष्ठ पटक–पटक कम्पनीको अध्यक्ष बनेका छन् ।

कम्पनीका सञ्चालक सापकोटाले करिब ६ वर्षको अवधिमाद आफ्नो स्वामित्वमा रहेको ६७ हजार ८०० कित्ता सेयर कानून विपरित बिक्री गरेका छन् । उनले पनि कम्पनीको सञ्चालक भएको समयमा नै सेयर बिक्री गरेका हुन् । अहिले उनको स्वामित्वमा १५ हजार २०० कित्तामात्रै सेयर स्वामित्व रहेको छ । सापकोटा ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) का पूर्वउपाध्यक्ष समेत हुन् । उनी हाल अल्च्यिुट एयरका मार्केटिङ डाइरेक्टर समेत छन् ।


क्लिकमान्डु