रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न रास्वपाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समितिका सदस्य रास्वपाका सांसद डा. चन्दा कार्की भण्डारीले आफ्नो पार्टीले न्यायालयलाई प्रभावित पार्न नखोजेको बताइन् ।

गृहमन्त्री रमेश लेखक सहभागी बैठकमा उनले लामिछानेले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको र उनले कुनै प्रमाण नष्ट नगर्ने बताइन् ।

‘उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन । उहाँ भागेर जाने व्यक्ति पनि होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ । रवि लामिछानेलाई थुना मुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु’ उनले भनिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै लामिछानेको सहकारी प्रकरणमा संलग्नता छैन भनेको भन्दै अहिले किन चुप लागेर बसेको भन्दै प्रश्न गरिन् । ‘प्रधानमन्त्रीले रवि लामिछानेको संलग्नता छैन भन्नुभएको थियो । अहिले त्यसको उल्टो कार्य र निर्णय हुँदा चुप बस्नुहुन्छ ?’ उनले प्रश्न गरिन् ।

बैठकमा प्रधानमन्त्री उपस्थित हुने भनिए पनि उनी बैठकमा गएनन्।

१२ लाख नेपाली जनताले पत्याएको दलको नेतालाई पक्राउ गर्नु र थुनामा राख्नु नागरिकको चासोको विषय भएको उनले बताइन् ।

रास्वपाले न्यायपालिकालाई प्रभावित पार्न खोजेको भन्दै लगाइएको आरोप न्यायोचित नभएको उनको भनाइ छ ।

‘अदालतलाई प्रभावित किन नगरेको हो भने अहिलेसम्म अदालतमा प्रवेश गरिसकेको छैन । प्रहरी प्रशासन कार्यपालिका मातहत छ । गृह मन्त्रालयलाई रविले न्याय पाउनुपर्छ भन्नु कसरी न्यायालय प्रभावित हुन्छ ? आफ्नो बयान र प्रमाण पेश गरिसकेको अवस्था छ । उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन । गृहमन्त्रीलाई थुना बाहिर राखेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।


क्लिकमान्डु