बिल सच्याउने अवसर नमानेर कुलमानले राजनीति गरे : रमन कर्ण



काठमाडौं । कानुन व्यवसायी रमन कर्णले बिल सच्याउने अवसर नमानेर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले राजनीति गरिरहेको बताएका छन् ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको पीडित तथा प्रताडीत उद्योगीहरुको समूहले आयोजना गरेको पत्रकार सम्मेलन उनले कुलमानले विवादलाई राजनीति गर्ने भर्‍याङ बनाइरहेको बताए । ‘उहाँले बिल जारी गर्नु भयो । विवाद समाधानका लागि नेपाल सरकारले सर्वोच्च अदालतका पूर्व न्यायधिश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग बन्यो । जाँचबुझ आयोगमा बहालवाला २ जना सचिव समेत संलग्न थिए,’ उनले भने, ‘आयोगले दिएको प्रतिवेदनको सिफारिस अनुसार बिल जारी गर्दा सच्याउने अवसर मान्नु भएन । यो विवादलाई उत्कर्षमा पुर्‍याएर उहाँले राजनीतिक भर्‍याङ बनाइरहनु भएको छ । यो कुरा स्पष्ट  छ ।’

उनका अनुसार विद्युत प्राधिकरणसम्बन्धी कानुनमा विद्युत प्राधिकरणलाई व्यवसायिक व्यवहार गर्नु भनिएको छ । ‘विद्युत प्राधिकरण सरकारको लगानी भएको व्यापारिक संस्था हो। त्यसको उहाँ एमडी हो,’ उनले भने, ‘उहाँ सरकार होइन्  । उहाँ व्यवसायी हो । बिल सच्याउन अवसर नमानेर उहाँ राजनीतिक गर्ने भर्‍याङ बनाइरहनु भएको छ ।’

विद्युत प्राधिकरणले शुक्रबार राती ३४ वटा उद्योगको लाइन काटेको छ । लाइन काटेपछि उद्योगीले पत्रकार सम्मेलन गरेका हुन् ।


क्लिकमान्डु