उडान अनुमति सकिएपछि थाइ एयर एसियाको जहाज नेपाली आकाशमा होल्ड
काठमाडौं । थाइल्याण्डको बैंककबाट काठमाडौं आउँदै गरेको एयर एसियाको विमान नेपाली आकासमा होल्ड भएको छ ।
आइतबार विहान बैंककबाट स्थानीय समय अनुसार ११ बजेर ५० मिनेटमा उडेको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्ने अनुमति नपाउँदै आकाशै होल्ड भएको हो । थाइ एयर एसियाको उडान अवतरण अनुमति समाप्त भएपछि विमानस्थलले अवतरण गर्न नदिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले उडान अनुमति सकिएको विमानलाई उडान अवतरण गर्न दिन नसकिने बताएको स्रोतले जानकारी दियो ।
‘उडान अनुमति नभएको विमान डाइभर्ट गर्नुपर्छ भन्ने जीएमसापको भनाइ छ तर डीजीले अवतरण गर्न दिनुपर्छ भनिरहनु भएको छ’ स्रोतले भन्यो,’अवतरण गर्न दिने वा डाइभर्ट गर्ने भन्ने विषयमा अझै निर्णय भएको छैन ।’
स्थानीय समयअनुसार नेपालमा २ बजे अवतरण हुनुपर्ने विमान नेपाली आकाशमा होल्ड भएको हो ।