म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो



पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेलाई अदालतमा पेस गरिएको छ ।

शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राति पोखरा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।

जिल्ला अदालत जाने बाटोमा रास्वपाका समर्थकहरुले प्रदर्शन गरेपछि लामिछानेलाई अर्को बाटो हुँदै अदालत पुर्‍याइएको हो ।

जिल्ला अदालत बाहिर रास्वपाका नेता कार्यकर्ता भेला भएका छन् ।

सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि दाहालको इजलासमा पेश गरिने छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ ।

गोर्खा मिडिया प्रालिद्धारा संचालित ग्यालेक्सी टेलिभिजनका संचालक एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछाने सहितको समूहले विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ गैरकानुनी रुपमा लगेको र उक्त रकमको अधिकांश हिस्सा लामिछानेले खर्च गरेको संसदीय छानविन समितिको निष्कर्ष छ ।

लामिछानेविरुद्ध कास्की प्रहरीमा पुरक जाहेरी परेको छ ।


क्लिकमान्डु