दशैंमा वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैं पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन देशभरबाट बाहिरिने सम्भावना छ ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् ।

‘यसपटक मनसुन बाहिरिने समय र दशैं एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘तसर्थ यो दशैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

विभागका अनुसार यस वर्षको मनसुनमा अघिल्ला वर्षहरुभन्दा धेरै पानी पर्ने पूर्वानुमान छ । गत साता मात्रै तीन दिनसम्म अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबानले झन्डै २ सयको मृत्यु भएको थियो भने दर्जनौं मानिस घाइते भएका छन् ।


क्लिकमान्डु