देउसी खेल्न आउनेलाई आफैं खाना पकाएर खुवाउँछु, दक्षिणा चाहीँ १११ रूपैयाँ मात्रैः हरि ढकाल



काठमाडौं । चाडपर्व, सम्भवत सबै मानिसका लागि उस्तै उस्तै नै हो । आफन्त तथा साथी संगीसँग भेटघाट, राम्रै लगाउने, मिठै खाने, रमाइलो गर्ने । सबै दुःख, पीडा भुलेर रमाइलो गर्ने, आम मानिसको बुझाइ पनि यस्तै नै हुने गर्छ ।

तर, आम मानिसलाई जस्तो जनप्रतिनिधि, त्यसमा पनि प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिलाई चाडपर्व मनाउन सहज भने अलिक छैन । आफन्त, इष्टमित्र, नाता गोताहुँदै, शुभचिन्तक, पार्टीका नेता, कार्यकर्ता, मतदातालाई दिने समय । अनि आफ्ना लागि, आफ्ना परिवारका लागि खैत समय ? यो प्रश्नले धेरैलाई पिरोल्ने गर्छ । समय व्यवस्थापन निकै कठिन विषय बन्छ । यो कठिन परिस्थितिको सामना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरि ढकालले पनि गरिरहेका छन् ।

उनलाई वर्षमा एक दिन भएपनि परिवारका सदस्यलाई आफैंले विभिन्न परिकार बनाएर खुवाउन मनपर्छ । तर गत वर्ष टिकाको दिन मात्रै फुर्सद भएको ढकालले सुनाए । त्यही दिन पनि सबै परिवारलाई आफूले खाना बनाएर खुवाएको ढकालसँग मिठो स्मरण छ ।

सानो बेलामा टीका लगाउन मामाघर जाँदाको यात्रा ढकाललाई अहिले पनि ताजै याद छ । ट्रकको पछाडि बसेर गर्ने यात्रा, त्यो बेला पाउने दक्षिणा, त्यसको महत्त्व निकै फरक हुने गरेको ढकाल बताउँछन् । अहिलेभन्दा सानो बेलाको दशैं निकै रमाइलो हुने ढकालको स्मरण छ ।

ढकाललाई खानामा यो नै चाहिन्छ भन्ने छैन । तर, फर्सिको मुन्टाले भने धेरै तान्ने गर्छ । मुन्टामा भात, ढिँडो दुवै रुच्ने ढकालले सुनाए । खाना भनेर सम्झना साथ पहिला आउने याद नै मुन्टा हो ।

ज्योतिष ढकालको नाती, हरी । सबैले सानैदेखि चिनेको, सुनेको नाम थियो । सानो बेला अमरज्योती युवा क्लबबाट खेलेको देउसी, भैलो अझै पनि याद छ । त्यो बेला देउसी खेलेर आएको पैसा अग्रज दाइहरुले कहाँ खर्च गरे भन्ने चैं यहिन नभएको उनको स्मरण छ । आफूले देउसी नखेलेको धेरै भएपनि गत वर्ष आफ्नो (सांसदको) घरमा देउसी खेल्नेको निकै भिड भएको सुनाए ।

सामान्य नागरिक र जनप्रतिनिधि भएपछि चाडपर्व मनाउँदा लाग्ने खर्चमा भने निकै बढ्ने गरेको उनको बुझाइ छ । दुर्गा पुजाका लागि सहयोगको पत्र, देउसी खेल्न आउँदै छौं भनेर पहिला नै आउने पत्रले केही दबाब सिर्जना गरेको उनको स्मरण छ ।

यो वर्ष देउसी खेल्न आउनेलाई बरु आफैं खाना, खाजा जति खाएपनि आफैं बनाएर खुवाउने, दक्षिणा चाहीँ १११ रुपैयाँ मात्रै दिने योजनामा छन्, ढकाल ।

चाडपर्वमा जम्मा भएको पैसा फजुल खर्च गर्नुभन्दा सेयरमा लगानी गर्न ढकाल सुझाव दिन्छन् ।

प्रस्तुत छ, उनै ढकालसँग दशैं, तिहार, देउसी, भैलो र खानपान लगायतका विषयमा क्लिकमान्डुका लागि सोभित थपलियाले गरेको कुराकारीः


सोभित थपलिया