आठै टोलीले लगाए अनिलमा मूल्य, १५ लाखमा जनकपुरमा अनुबन्ध, कुन खेलाडी कतिमा बिके ?




काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित अक्सनमा अनिलले न्यूनतम १० लाख राखेका थिए । उनलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो ।

आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन्। जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् । यसैगरी, बायाँ हाते स्पिनर सागर ढकाल १५ लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

‘ग्रेड ए’ मा नाम राखेका उनलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जसमा ‘लक्की ड्र’ मार्फत पोखराले पाएको हो ।

तीव्र गतिका बलर प्रतिश जिसीलाई १५ लाखमा विराटनगरले अनुबन्ध गरेको छ । ‘ग्रेड ए’ मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । उनलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो ।

त्यस्तै, लोकेश बमलाई विराटनगरले १५ लाखमा अनुबन्ध गरेको छ । विस्फोटक ब्याटरका रुपमा परिचित उनलाई किन्न जनकपुरबाहेक सुदूरपश्चिम, काठमाडौँ, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए ।

मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका हुन् । उनलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो । आरिफले न्यूनतम मूल्य १० लाख राखेका थिए । अक्सनमा उनलाई अनुबन्ध गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले अनुबन्ध गरेका हो ।

यसैगरी, रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध भएका छन् । ए ग्रेडमा रहेका उनले न्यूनतम १० लाख पाएका हुन् । त्यस्तै, अलराउन्डर दीपेश कँडेललाई काठमाडौँले पाँच लाख तिरेर अनुबन्ध गरेको छ । अक्समा कँडेलले न्यूनतम मूल्य पाँच लाख राखेका थिए । यसैगरी, अलराउन्डर नारायण जोशी १० लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

युवा ब्याटर ऋत गौतम पाँच लाखमा नै बिक्री भए । न्यूनतम मूल्य पाँच लाख राखेका उनलाई कर्णालीले मात्रै मूल्य लगाएको थियो ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ । अक्सन चलिरहेको छ ।

अक्सनको ग्रेड ‘ए’ न्यूनतम १० लाख र उच्चतम १५ लाख राखिएको छभने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ । त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम पाँच लाख तोकिएको छ ।


क्लिकमान्डु