दशैं सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको घुँइचो (तस्बिरहरु)



काठमाडौं । दसैं सुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको हो । काठमाडौं उपत्यकाको भद्रकाली, नरदेवी, शोभा भगवती, पशुपति, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्शाल भगवतीमा भक्तजनहरुको भीड रहेको छ । यस वर्ष असोज १७ गतेबाट घटस्थापनासँगै जमरा राखेर दसैंलाई स्वागत गरिएको छ ।

आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिन्छ । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो ।

दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो व्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्वीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैं पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।


क्लिकमान्डु