मनिषालाई भेट्न भक्तपुर पुगेका विनोदसँग ५ लाख लिएपछि हत्या, काभ्रे लगेर शव फाल्ने ५ जना पक्राउ



काभ्रे । काठमाडौंको कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ । प्रहरीका अनुसार यो समूहले खड्गीलाई ‘हनीट्र्याप’मा पारेका थिए । त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

कीर्तिपुरका ५० वर्षीय खड्गीको शव असोज ६ मा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि उनी हराएका थिए ।

मनिषा महतको समूहले खड्गीलाई ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ ।

मनिषासहितको समूले उनीसँग रकम माग गरेका थिए । प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पुर्‍याएका थिए । तर रकम पाइसकेपछि उनीहरुको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषाले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेको प्रहरीले जनाएको छ ।

सम्भावित भारतीय नागरिक अंसु खान र शिवमसँग मिलेर मनिषाले तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुल गरेक पाइएको प्रहरको भनाइ छ ।

त्यहाँबाट फर्किने क्रममा उनीहरुले नेपालमा पनि मनिषामार्फत धनी व्यक्तिलाई ‘हनीट्रयाप’मा पार्ने र रकम लुट्ने योजना बनाएको प्रहरीको दाबी छ । त्यसमा कीर्तिपुरका विनोद परे ।

मनिषाले ५ गते बिहान विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुपर्‍यो भन्दै बोलाएकी थिइन् । साढे ११ बजेतिर त्यहाँ पुगेका विनोदलाई मनिषा र शिवमले रक्सी खुवाए । त्यही क्रममा खोर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएको र कोठामा पुग्नासाथ आक्रमण गरेका थिए ।

त्यसछि घाइते बनेका विनोदको हातखुट्टा बाँधेर उनीहरुले फिरौतीका लागि बार्गेनिङ गरे । सुरुमा उनीहरुले ३० लाख रुपैयाँ मागेका थिए । तर मनिषाले त्यो रकम धेरै भएको भन्दै १० लाख मागेकी थिइन् ।

विनोदले त्यति रकम आफूसँग नभएको भन्दै ५ लाख दिन सक्ने बताउँछन् । त्यसपछि आफ्नो कार्यालय बधशालाका कर्मचारी प्रदीप थापा मगरलाई फोन गरेर ५ लाख रुपैयाँ ल्याउन लगाएका थिए ।

विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा ल्याएका थिए ।

तर मिनषासहितको समूहले घाइते विनोदलाई उनकै गाडीमा राखेर सूर्यविनायक–७ स्थित गुन्डु जाने सडकमा पुर्‍याएका थिए । उनीहरुले विनोदलाई गाडीभित्र ढुंगाले हानेर हत्या गरेको देखिएक प्रहरीले जनाएको छ । ‘गाडीभित्रै ढुंगाले छातीमा हानेर उनको हत्या गरेको देखिन्छ’ काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन्।

हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलो भन्ने ठाउँमा पुर्‍याएर अरनिको राजमार्गबाट तल झाडीमा शव फालेर उनीहरु भक्तपुर फर्किएका थिए ।

पुरानो थिमीमा गाडी छाडेर घर गएका उनीहरुले भोलिपल्ट भेटेर पैसा बाँडेका थिए । अंशुले मनिषालाई एक लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार, रोशनी महतलाई ५० हजार रुपैयाँ दिएको देखिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थाहा पाएपछि मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको र विवाद भएपछि आफूखुसी निस्किएको बयान दिने सहमति समेत उनीहरुमा थिएको थियो । तर त्यही दिन प्रहरीले मनिषासहितका व्यक्तिलाई पक्राउ गर्‍यो। भारतीय नागरिक भनिएका अंशु र शिवमको इन्टरपोलमार्फत खोजी भइरहेको प्रहरीले जनाएको छ।


क्लिकमान्डु