दशैंको व्यापार विगतको तुलनामा ७५ प्रतिशत कम



काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

दशैं लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको भीड हुने भए पनि अहिले बजार सुनसान छ ।

विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीको कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरुले बताए । उनीहरुले दशैं नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् ।

दशैं लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निरासामा परिणत भएको छ ।

दशैं लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।

व्यापारीहरुले विगतका वर्षहरुमा सोही समयमा हुने सतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको उल्लेख गरे ।

बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरुको क्रय शक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ ।

उनीहरुले दशैं लागेसँगै व्यापार बढ्ने केही आश भए पनि बाढी पहिरो जस्ता विपत्तिको कारण बजारमा ३० प्रतिशत भन्दा बढी व्यापार नहुने आँकलन रहेको बताए ।

सरकारको नीति ,बैंकको ब्याज,घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको बताए ।

उनीहरुले आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएको अवस्थामा सामानको मूल्य वृद्धि हुँदा पनि सामान बोच्न व्यवसायीहरुलाई समस्या भएको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यस वर्षको दशैं व्यवसायी र आम नागरिकको लागि दशाको रुपमा देखापरेको बताए ।

उनलेअहिले मुलुक नै व्यापार व्यवसाय भन्दा पनि बाढी पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दशैंमा रौनक नभएको बताए । उनले विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएर २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी पहिरोको कारण शिथिल बनाएको बताए ।

मुलुकका सक्रिय युवाहरु विदेश पलायन भएकाले पनि बजारमा व्यापारमा कमी आएको बताए । बाढी पहिरोको कारण काठमाडौं उपत्यकाबाट देशभर जाने सडक मार्गहरु बन्द भएकाले होलसेल व्यवसायीहरुलाई थप समस्या भएको बताए ।

संस्थापक अध्यक्ष कटुवालले बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण दशैंमा बजार चलायमान हुने अवस्था नदेखिएको बताए ।

व्यापार व्यवसाय विगतको तुलनामा रौनक नदेखिएको भन्दै व्यवसायीहरुमा दैनिक निराशा छाएको बताए । उनले भन्सार दरदेखि स्थानीय कर,घरभाडा,ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियत भन्दा माथि बजार मूल्य पुगेको पनि बताए ।

उद्योगी व्यवसायीहरु पनि विदेश पलायन हुनुपर्ने सोचमा पुगेको बताए ।

क्रयशक्ति कम भएकाले दशैंमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको उनको भनाइ छ ।

‘दशैंमा बजार चलायमान हुने देखिएको छैन । बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण बजार चलायमान हुन सकेको छैन । दशैंमा बजारमा विगतको जस्तो रौनक छैन,’ उनले भने, ‘व्यापार व्यवसाय विगतको तुलनामा रौनक देखिएको छैन । कोभिडभन्दा अघिको बजार र अहिले धेरै फरक भएको छ । व्यवसायीहरुमा दैनिक निरासा छाएको छ । लगानी सुरक्षित गर्ने अवस्था पनि छैन । भन्सार दरदेखि स्थानीय कर,घरभाडा,ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियतअनुसार बजार मूल्य छैन । केही वृद्धि भएको छ ।’

मुलुकमा युवाहरु सबै विदेश पलायन भएकाले पनि बजारमा मानिसहरु नभएको उनको भनाइ छ । बजार विगतको तुलनामा २५ प्रतिशत सीमित भएको उनको भनाइ छ ।

‘उद्योगी व्यवसायीहरु पनि विदेश पलायन हुनु पर्ने सोचमा पुगेका छन् । बजार विगतको तुलनामा २५ प्रतिशतमा सीमित भएको छ । २५ प्रतिशतको व्यापारले सबै कुराहरु धान्दैन । बाढी पहिरोबाट भएको सडक पूर्वाधार सरकारले तत्काल बनाउँदै यात्राको लागि सहज वातावरण बनाउन जरुरी छ’ उनले भने ।

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताए ।

उनले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको भन्दै बजार २० देखि २५ प्रतिशत मात्रै व्यापार रहेको बताए । कोभिडपछि सुरु भएको आर्थिक मन्दी यस वर्षको दशैंमा आएर चरम उत्कर्षमा पुगेको देखिएको बताए । श्रेष्ठले व्यापार नभएर निरासा रहेको व्यवसायीहरुलाई बाढी पहिरोको कारण थप निराशा थपेको बताए ।

पछिल्लो दुई वर्षदेखि निरन्तर रुपमा चाडपर्वमा व्यापार व्यवसायीमा कमी हुँदै आएको भन्दै विगतको तुलनामा यस वर्ष शून्य अवस्थामा आएको बताए ।

उनले यस वर्षको देशैँमा २० प्रतिशतभन्दा बढी व्यापार हुने अवस्था देखिएको बताए ।

‘मुलुक नै मन्दीमा छ । कोभिडपछि क्रमशः मन्दी शुरु भएर अहिले चरम बिन्दुमा गएको अवस्था छ । लामो समयदेखि व्यापार चलायमान हुन सकेको छैन । उपभोक्ताको कमीको कारणले पनि बजार चलायमान हुन सकेको छैन,’ उनले भने, ‘बजारमा उपभोग वृद्धि गर्ने युवा जनशक्ति विदेश पलायन भएको कारण पनि व्यापारमा कमी भएको हो । मानिसहरुको क्रय शक्ति घटेको छ । काठमाडौं बाहिरको व्यापारको अवस्था पनि उस्तै छ । बाढी पहिरोको कारण काठमाडौं नाकाबन्दीको अवस्थामा छ ।’

रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको भन्दै ७० प्रतिशतले गिरावट आएको बताए ।

उनले ७० प्रतिशत व्यापारमा आएको गिरावटले व्यवसायीहरु ठूलो मारमा परेको भन्दै व्यापार व्यवसायीहरुलाई सुरक्षा दिने सम्बन्धमा सरकारले ध्यान दिन जरुरी रहेको बताए ।

उनले व्यापारको लागि दशैंमा घटस्थापनाका दिनदेखि फूलपातीको दिनसम्म पिक समय मानिने भए पनि अहिले त्यस्तो नरहेको उनले बताए । दशैं लाग्ने दुई हप्ता अघि बजार भिडभाड हुने गरे पनि यो वर्ष सुनसान रहेको उनको भनाइ छ । उनले बाढी पहिरोको कारण मुलुक अस्तव्यस्ता भएकाले थप व्यापारमा जटिलता थपिएको बताए । उनले दशैंमा बजार चलायमान भएर लगानी उठ्ने सम्भावना नभएको बताए ।

भन्सारका दरहरु सरकारले हरेक वर्ष बढाएर आयातलाई सरकारको आम्दानीको रुपमा लिएकाले सामानको मूल्य पनि बढेर आएको पाण्डेले बताए ।

‘मुलुक आर्थिक मन्दीको चपेटामा थियो । अहिले थप अविरल वर्षाको कारण दशैं व्यवसायीहरु लगायत आम नागरिकलाई दशाको रुपमा आएको छ,’ पाण्डेले भने, ‘अहिले आर्थिक चलायमान र व्यापार व्यवसाय सुस्ताएर गएको छ । अहिले बाढीको कारण मुलुक रोकमा छ । काठमाडौंका प्रत्येक नाकाहरु बन्द भएको अवस्था छ । अहिले बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको छ । ७० प्रतिशतले गिरावट आएको देखिन्छ । यसले व्यवसायीहरु ठूलो मारमा परेका छन् । व्यापार व्यवसायीहरुलाई सुरक्षा दिने सम्बन्धमा ध्यान दिनुपर्छ ।’

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि दशैंको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा परेको बताए । गौतमले बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा धेरै व्यवसायीहरुको सामान नाका र बाटोमा अड्किएर बसेको उनले बताए ।

गौतमले व्यापार गरेर दशैंमा राम्र्रै खाने र राम्रो लगाउने योजना बनाए पनि यो वर्ष खासै उत्साह नभएको बताए ।

बाढी पहिरोका कारण व्यापार समेत ठप्प भएकाले राज्यले सहजीकरण तत्काल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले बजारमा दशैं अहिलेसम्म नलागेको भन्दै बजार सुनशान रहेको बताए । उनले आजसम्म बजारमा दशैंको चहलपहल नदेखिएको बताए । उनले सिभिल महलका व्यवसायीहरु गेम र टिकटक हेरेर बस्न बाध्य रहेको बताए ।

घटस्थापनाका दिनदेखि केही ग्राहक आउने पर्खाइमा रहेको उनको भनाइ छ ।

दशैंमा केही व्यापारमा सुधार हुने व्यवसायीमा अपेक्षा भएपनि आशातित हुन नसकेको बताए ।

एकता व्यापार संघका अध्यक्ष तेज आचार्यले पनि विगतका दशैंको तुलनामा यस वर्षको दशैंमा विभिन्न समस्याको कारण १० प्रतिशत पनि व्यापार नहुने अवस्था देखिएको बताए ।

९० प्रतिशत बजार प्रभावित हुने अवस्था बाढी पहिरोका कारणले अनुमान गर्नसक्ने अवस्था आएको बताए । नेपालसँग कुरा गर्दै उनले दशैं लाग्नुभन्दा अघिका १० देखि १२ दिनको व्यापारले लगानी उठाउने र ऋण तिर्ने आशा रहे पनि आशा मर्दै गएको बताए।
बजारमा भीड हुने बेला भए पनि कुनै पनि पसलहरुमा ग्राहक नभएको उनले बताए ।

अहिलेको अवस्थामा राज्यले सडक पूर्वाधार तत्काल बनाउने र नीतिगत व्यवस्थालाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ । व्यापार व्यवसाय नाजुक र दयनीय अवस्था रहेको भन्दै दशैं नजिकिएसँगै केही व्यापार वृद्धि हुने अपेक्षा हुँदाहुँदै बाढी पहिरोका कारण थप समस्या बनाएको उनको भनाइ छ ।

न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडीले पनि दशैंको मुखमा आएर मुलुकमा बाढी पहिरोको विपद् आएकाले थप बजारमा समस्या आएको बताए ।

उनले आर्थिक कारोबार पनि कम भइरहेकाले दशैं लागे पनि व्यापार व्यवसाय नाजुक अवस्थामा रहेको बताए । उनले कोभिडको समयलाई हेर्दा पनि त्यसको तुलनामा २० देखि २५ प्रतिशत पनि व्यापारमा कमी आएको बताए । व्यवसायीहरुले सामान ऋण गरेर आयात गरेको सामान समेत पसलसम्म आउन नसकेर बाटोमा फसेको बताए।

अर्का व्यापारी रञ्जना महलमा स्टार जिन्सका सञ्चालक संयोग श्रेष्ठले पनि विगतको भन्दा व्यापार स्लो रहेको बताए । उनले विगतमा १०० प्रतिशत हुने व्यापारमा अहिले २० प्रतिशत पनि व्यापार नभएको बताए । उनले दशैंको माहोल लाग्ने तरखरमा बाढी पहिरोका कारण बाहिर जिल्लाका व्यवसायीहरु समेत आउन नसक्दा बजार सुनसान देखिएको बताए ।

महाबौद्धका व्यापारी रमेशकुमार अधिकारीले पनि दशैं नजिकिए पनि व्यापार शून्य अवस्थामा रहेको बताए ।

नयाँ वर्ष लागेसँगै व्यापारमा आएको कमी दशैंसम्म आउँदा ७५ प्रतिशतले कमी आएको बताए ।


क्लिकमान्डु