साढे ६ वर्षपछि प्रयोगशालासहितको मोबाइल भ्यान आजबाट सञ्चालनमा आउँदै

महानिर्देशक कर्णको पहलमा २८ करोडको भ्यान पुनः सञ्चालन




काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अलपत्र परेको प्रयोगशालासहितको मोबाइल भ्यान बुधबारदेखि सञ्चालनमा ल्याएको छ । विभागका नवनियुक्त महानिर्देशक सञ्जिवकुमार कर्णको अग्रसरतामा अलपत्र बनेका मोबाइल ल्याब सञ्चालनमा ल्याइएको हो ।

बुधबार बिहान कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सामान्य अवलोकन पश्चात् उक्त भ्यान सञ्चालनमा ल्याउन लागिएको हो । आवश्यक मर्मत सम्भार पश्चात् ४ वटा मोबाइल भ्यानमध्ये २ वटा बुधबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउन लागिएको हो । थप दुई पनि मर्मत सम्भार सम्पन्न भएपछि यसै साताबाट सञ्चालनमा आउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

व्यक्तिगत रिसिइवीका कारण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक मतिना वैद्य जोशीले राज्यको श्रोतबाट खरिद भएको २८ करोडको प्रयोगशालासहितको मोबाइल भ्यान पछिल्लो साढे ६ बर्षदेखि सडाएर कवाडीमा परिणत गरेकी थिइन् ।

विभिन्न प्रकारका खाद्य उद्योगबाट उत्पादित खाद्य तथा पेयजन्य पदार्थको अनुगमन स्थलमै विश्लेषण गरी दोषीमाथि कानूनअनुसार कारबाही गर्ने उद्देश्यले विभागलाई २०७५ बैशाखमा ४ वटा अत्याधुनिक प्रयोगशालासहितको मोबाइल भ्यान (वेल इक्वीपमेन्ट ल्याबोरेटरी मोवाइल भ्यान) उपलब्ध गराइएको थियो ।

७ करोडको दरले चार वटा भ्यान खरिद गर्न तत्कालिन समयमा २८ करोड रुपैयाँ खर्चिएको थियो । फोर्ड ब्राण्डको बा २ झ ४०८७, बा २ झ ४ ०८८, बा २ झ ४ ०८९ र बा २ झ ४ ०९० नम्बर भएको चारवटा मोबाइल भ्यान खरिद भएको थियो ।

यसमध्ये बा २ च ४०८९ र बा २ च ४०९० नम्बरको दुई मोबाइल भ्यान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नै स्रोतबाट खरिद गरेको थियो । बाँकी २ मोवाइल भ्यान प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले खरिद गरेर उपलब्ध गराएको थियो ।

खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट छ वा छैन भनेर त्यसको नतिजा तत्कालै अनुगमन स्थलमै दिन सक्ने विशेषता प्रयोगशालासहितको उक्त मोबाइल भ्यानको छ ।

उक्त मोबाइल भ्यान सञ्चालन गर्न विशेष अदालतको आदेश, ३ विभागीय मन्त्री र सचिबको निर्देशनलाई समेत पूर्व महानिर्देशक जोशीले अवहेलना गरी सञ्चालन गर्न अटेरी गरेकी थिइन् ।

निर्देशन पालना नगरेको र बजार अनुगमनलाई पनि प्रभावकारी बनाउन नसकेको भन्दै मन्त्रालयले जोशीलाई मन्त्रालय तानेको छ भने उनको स्थानमा सहसचिब कर्णलाई महानिर्देशकको जिम्मेवारी दिएको छ ।

महानिर्देशकको जिम्मेवारी सम्हालेलगत्तै कर्णले बजार अनुगमनमा कडाई गर्नुका साथै मोवाइल भ्यान सञ्चालन प्रक्रियालाई पनि अघि बढाएका छन् ।

जोशीले कतिसम्म बदमासी गरेकी थिइन भने ४ वटा मोवाइल भ्यानमध्ये २ वटा तत्कालै सञ्चालनमा ल्याउने भनेर आफैंले गरेको निर्णयलाई समेत कार्यान्वयनमा ल्याउन चासो देखाएनन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि २०८० जेठ १८ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई लिखित पत्राचार गर्दै विशेष अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनअनुसार जुन प्रयोजनका लागि खरिद भएको हो, त्यो प्रयोजनमा उक्त मोबाइल भ्यान प्रयोगमा ल्याउन निर्देशन दिएको थियो । तर विभागको महानिर्देशक जोशीले त्यो निर्देशनलाई पनि अटेर गरेकी थिइन् ।

लामो समयसम्म ति भ्यानहरु खुला आकाशमुनि राखिएका कारण भ्यानको पाता र पार्टपुर्जामा खिया लागेर सड्ने क्रम सुरु भएको थियो । यस्तै केही भ्यानको टायरसमेत खिइएर काम नलाग्ने अवस्थामा पुगिसकेको थियो ।

अहिले ति सबै भ्यानको मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन लागिएको हो । उक्त मोवाइल भ्यानको विषयमा क्लिकमान्डुले पटक पटक समाचार सम्प्रेषण गरेको थियो ।

भ्यान नचल्दै लाखौं मूल्यको टेस्ट किटको म्याद सकियो
पूर्व महानिर्देशक जोशीले उक्त भ्यान सञ्चालन गर्न आनाकानी गरेपछि खाद्य वस्तु परीक्षण गर्ने लाखौं मूल्यबराबरको विभिन्न प्रकारको टेस्ट किटको म्यादसमेत नाघिसकेको थियो ।

मोवाइल भ्यान सञ्चालनमा नआउँदा सन् १९१९ जुलाई ४ तारिखमा माइक्रोवायोलोजी टेस्ट किटको म्याद सकेको थियो । यस्तै अफ्लाटोक्सिन किटको म्याद २०१९ फेब्रुअरी १ तारिखमा सकेको थियो । क्लोराम्फेनिकोल किटको म्याद २०१८ नोभेम्बर १० तारिखमा सकेको थियो । यस्तै पेस्टीसाइट टेस्ट किटको म्याद २०२० फेब्रुअरीमा म्याद सकेको थियो ।


राजेश बर्मा